काठमाडौं । कुनै समय थियो ५० प्रतिशत डाउन पेमेन्ट गर्ने रकम भएर पनि बाँकी रकम कर्जा पाउन मुस्किल थियो । दुईपाङ्ग्रे सवारी साधन बिक्रेताहरूले संचालन गरेका इन्भेष्टमेन्ट कम्पनीबाट दिइने कर्जामा निकै कडाइ गरिएको थियो ।
विगतमा सामान्य रोजगारी गर्ने व्यक्ति, जससँग काठमाडौंमा घर छैन भने उसले कर्जा पाउने अवस्था थिएन । कर्जा नै नपाएपछि उसले किस्तामा मोटरसाइकल नै किन्न सक्ने अवस्था थिएन ।
अहिले विभिन्न कम्पनीले मोटरसाइकल किन्न सहज स्कीमहरू ल्याउन थालेका छन् । बजारमा चल्तीका ब्राण्डहरू यामाहा, बजाज, केटीएम जस्ता ब्राण्डले सहजै कर्जा उपलब्ध गराउने स्कीम दिइरहेका छन् ।
यसो हुनुको मुख्य कारण घटेको बजार र बढेको प्रतिस्पर्धा मुख्य कारण हो । सन् २०१९ देखि २०२१ सम्मको अवधिमा धेरै मोटरसाइकल बिक्री भयो । त्यतिबेलाको बिक्री तथ्यांक झण्डै एक वर्षमा ३ लाख ५० हजार युनिट पुगेको थियो ।
सन् २०२२ पछि बिस्तारै मोटरसाइकल बजार खस्कियो । वार्षिक ३ लाख ५० हजार युनिट पुगेको दुईपाङ्ग्रे साधनको बजार झरेर ८० हजार सीमित बन्यो । घट्दो बजारमा ग्राहकतान्न बिक्रेताले गज्जपका स्कीम ल्याए । होन्डाले १ रुपैयाँमै बाइक तथा स्कुटर बिक्री गर्ने स्कीमदेखि १ प्रतिशत ब्याजदरमै कर्जा दिनेसम्मको स्कीम ल्यायो ।
अब कर्जा दिन प्रतिस्पर्धा सुरू भएको छ । जुन स्कीमले थोरै डाउन पेमेन्ट रकम भएका र काठमाडौंमा घर नभएका मानिसलाई पनि कर्जामा दुईपाङ्ग्रे साधन किन्न सक्ने बनायो ।
बजाज, केटीएम र ट्रायम्फ मोटरसाइकलको बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नागरिकताकै भरमा मोटरसाइकल किन्न कर्जा दिने स्कीम संचालन गर्दै आएको छ । कम्पनीले बिना झण्झट नागरिकताकै भरमा ग्राहकलाई हुलास फिन सर्भ हायर पर्चेज कम्पनी मार्फत कर्जा उपलब्ध गराउने छ । यसले उपत्यका बाहिरबाट आएर रोजगारी गर्दै आएका मानिसलाई मोटरसाइकल किन्न सहज भएको छ ।
यामाहाले पनि एमएडब्लू हायर पर्चेज कम्पनी मार्फत मोटरसाइकल तथा स्कुटरमा कर्जा उपलब्ध उपलब्ध गराउँदै आएको छ । अब यामाहाका मोटरसाइकल तथा स्कुटर किन्दा जमानी राख्नु पर्ने बाध्यता हटेको छ ।
यसअघि मोटरसाइकल किन्न आयस्राेत देखाउनुका साथै ग्यारेन्टरको काठमाडौमा घर हुनु पर्ने, बिजुलीको बिल हुनुपर्ने लगायतका कागजपत्र पेश गर्नु पर्ने बाध्यता रहेको थियो ।
यी दुई कम्पनीले मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकलाई निकै सजिलो बनाएको छ ।