काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा यूरो-६ मापदण्ड लागू गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवारी साधनमा युरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेका हुन् ।
नेपालमा हाल युरो ३ मापदण्ड लागू छ । ‘सवारी प्रदूषण मापदण्ड २०६९’ अनुसार युरो ३ वा सो सरहका मापदण्डका सवारीसाधन मात्रै आयात गर्न पाउने व्यवस्था छ । सरकारले अब एकैपटक युरो ६ लागू गर्ने नीति बनाएको हो ।
यद्यपि, लागू हुनेमा भने अझै शंका छ । सरकारले यसअघि वि.सं. २०७४ र २०७८ मा सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको थियो । तर, अटो व्यवसायीको दबाबका कारण पछि हट्दै आएको थियो ।
युरोपियन मुलुकहरूले १ दशक अघि नै युरो ६ मापदण्ड कार्यान्वयनमा ल्याएका थिए । त्यस्तै, छिमेकी मुलुक भारतले पनि सन् २०२० देखि नै युरो ६ (बीएस ६) मापदण्ड लागू गरिसकेको छ ।
नेपालमा पेट्रोलिय पदार्थ भने युरो ६ मापदण्डकै आयात हुँदै आएको छ । २०७७ चैतदेखि युरो-६ मापदण्डको पेट्रोलिय पदार्थ आयात हुँदै आएको छ ।
यो पनि पढ्नुहोस् सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी, अघि बढ्यो प्रक्रिया