काठमाडौं । इसुजुको चर्चित पीकअप ‘डी-म्याक्स’ ईभीमा सार्वजनिक भएको छ । कम्पनीले फोर ह्वील ड्राइभ सिस्टममा डी-म्याक्स ल्याउने भएको हो ।
फोर ह्वील ड्राइभमा उपलब्ध हुने पीकअपले १९० हर्स पावर प्रदान गर्छ । यसको पीकटर्क ३२५ एनएम छ । कम्पनीका अनुसार इलेक्ट्रीक पीकअपले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेटाउन १०.१ सेकेण्ड लगाउने छ ।
इसुजुकीले डी-म्याक्स पीकअपमा ६६.९ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्रीले २६२ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । ५० किलोवाटको डीसी चार्जर सपोर्ट गर्ने पीकअपलाई २० देखि ८० प्रतिशत चार्ज गर्न एक घण्टा लाग्नेछ ।
अफरोड क्षमतालाई पहिलोभन्दा उत्कृष्ट बनाउन कम्पनीले कुनै कसर बाँकी नराखेको जनाएको छ । यसमा २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहने छ । ६०० मिलिमिटर गहिरो पानीमा चलाउन सकिने पीकअपको अप्रोच एङ्गल ३०.५ डिग्री र डिपार्चर एङ्गल २४.२ डिग्री छ ।
रफ टेरेन मोड उपलब्ध हुने डी-म्याक्स पीकअपले १ हजार केजी लोड बोक्न सक्छ । यसको टोइङ क्यापासिटी भने ३५०० केजी हो । कम्पनीले अगाडिको फ्रन्ट फेसिया पनि निकै एग्रेसिभ बनाएको छ ।
इन्टेरियर पनि एसयूभीको जस्तै बनाएको छ । प्रिमियम सिट, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील दिइएको छ । डिजिटल इन्फर्मेसन डिस्प्लेदेखि अब्बल सुरक्षा फिचर यसमा पाउन सकिन्छ ।