महँगो गाडी चाहियो ? यी हुन् ४ उत्कृष्ट विकल्प

काठमाडौं । मानिसले पैसा कमाएपछि खर्च गर्छ । खर्च गर्दा अर्थतन्त्रको साइकललाई बलियो बनाउँछ । तर, नेपालमा पछिल्लो समय पैसा कमाउनु अपराध हो र पैसा क्लिन व्यवसाय गरेर कमाउनै सकिँदैन भन्ने भाष्य निर्माण गरिँदै छ ।

त्यसैले महँगा गाडी किन्न सक्ने मानिसले पनि गाडी किनेर खर्च गरिरहेका छैनन् । पैसा कमाउने मानिसले महँगा गाडी किन्दा सरकारलाई पनि मोटो रकम कर बापत आउँछ भने त्यसको सर्भिस लगायतको काममा लाग्नेले पनि राम्रो आम्दानी गर्न सक्छन् ।

यदि, तपाई पनि महँगो गाडी खोज्दै हुनुहुन्छ भने नेपालमा धेरै छनोट त पाउनु हुन्न । विश्वका लग्जरी र प्रिमियम ब्राण्ड भनेर चिनिने कमै मात्र ब्राण्ड यहाँ उपलब्ध छन् ।

जापनी ब्राण्ड टोयोटा, माज्दा, निसान जस्ता ब्राण्डहरू विगत ५० वर्षदेखि नेपालमा छन् । तर, यी कुनै पनि ब्राण्ड प्रिमियम कार उत्पादन गर्नेमा पर्दैनन् । युरोपियन ब्राण्ड फक्सवागेन, बीएमडब्लू, ल्याण्ड रोभर, अउडी, पोर्श्च जस्ता ब्राण्डका गाडी पनि उपलब्ध छन् । यी मध्ये धेरै ब्राण्डका गाडी अर्डरमा मात्रै आउँछ । अझ भनौं बीएमडब्लू छाडेर अन्य ब्राण्डको आधिकारिक उपस्थिति मान्नै सकिँदैन ।

यस्तोमा तपाईंले बजारमा किन्न पाउने प्रिमियम र महँगा चार गाडीका विषयमा यहाँ चर्चा गरिएको छ ।

बीएमडब्लू एक्स सेभेन

नेपालमा बिक्री हुने सबैभन्दा महँगो मध्येको एक गाडी बीएमडब्लू एक्स सेभेन हो । जर्मन लग्जरी ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम बीएमडब्लूको लाइअपमै सबैभन्दा महँगो मोडलको रुपमा यसलाई बिक्री गर्छ ।

बीएमडब्लू एक्स सेभनको मूल्य ७ करोड ५० लाखदेखि ८ करोड रुपैयाँसम्म पर्छ । यो प्रिमियम एसयूभीमा धेरै फिचरहरू ग्राहकको चाहना अनुसार ‘कस्टुमाइज’ गर्न पाइने भएकाले ठ्याक्कै मूल्य भन्न सकिँदैन ।

पाँच मिटरभन्दा पनि लामो एक्स सेभन एसयूभीमा ३.० लिटर सिक्स सिलिण्डर, पेट्रोल इन्जिन रहेको छ । जसको टप स्पीड क्षमता २५० किलोमिटर प्रतिघण्टा छ ।

रेन्ज रोभर अटोबायोग्राफी

बेलायती अटोमोवाइल कम्पनी ल्याण्ड रोभरले बनाएको रेन्ज रोभरको अटोबायोग्राफी मोडल धेरै अन्तर्राष्ट्रिय सेलिब्रेटी र सरकार प्रमुखहरूको रोजाइमा पर्दै आएको छ । ल्याण्ड रोभरका विभिन्न मोडलहरू अरेट इन्टरनेशनलले उपलब्ध गराउँदै आएको छ ।

अटोबायोग्राफी लग्जरी प्रिमियम एसयूभी हो । यसको मूल्य ७ करोड रुपैयाँ माथि पर्ने कम्पनीले जनाएको छ । यसमा टुइन टर्बो भी८ पेट्रोल इन्जिन छ । रेन्ज रोभर अटोबायोग्राफीमा ८ स्पीडको अटोमेटिक गियरबक्स छ । यसको टप स्पीड २५० किलोमिटर प्रतिघण्टा छ ।

टोयोटा एलसी ३००

टोयोटाको ल्याण्ड क्रुजर ३०० नेपालमा उपलब्ध महँगा एसयूभी मध्ये एक हो । नेपाली बजारमा ५ दशकभन्दा बढी समयदेखि युनाइटेड ट्रेडर्स सिण्डिकेटले टोयोटाका गाडी बिक्री गरिरहेको छ । यसको मूल्य ५ करोड ३९ लाख रुपैयाँ तोकिएको छ ।

अहिले युरो ४ प्रदूषण मापदण्ड अनुसार आइरहेको एलसी ३०० अब भने युरो ६ मापदण्ड अनुसारको आउन लागेको छ । त्यतिबेला यसको मूल्य ६ करोड रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ । टोयोटाले यसमा ३.३ लिटर, सिक्स सिलिण्डर, टुइन टर्बो डिजेल इन्जिन दिएको छ ।

पोर्श्च मकान

पोर्श्च कमान पनि नेपालमा पाइने सबैभन्दा महँगो इलेक्ट्रीक एसयूभी हो । इलेक्ट्रीक सुपर कारको रूपमा चिनिने मकानको मूल्य ३ करोड ७५ लाख रुपैयाँ छ ।

काइरोश इन्टरनेशनले ल्याइरहेको मकान एसयूभीमा ९५ किलोवाटको एनसीएम ब्याट्री छ । सिंगल चार्जमा ३६५ किलोमिटर रेन्ज दिने सुपरकारमा ३०० किलोवाटको मोटर छ ।


Back_to_top