काठमाडौं । विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएल र चिनियाँ अटोमोवाइल उत्पादक चांगान मिलेर बनाएको प्रिमियम ब्राण्ड अवतारले आफ्नो ‘अवतार-११’ मोडलको फेसलिफ्ट सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक अवतार–११ लाई इआइभी हाइब्रिड टेक्नोलोजीमा समेत ल्याएको हो ।
चांगान र सीएटीएलले सन् २०१८ मा संयुक्त लगानीमा स्थापना गरेको अवतार ब्राण्डमा सन् २०२२ अगष्टबाट कार आउन थालेको हो । पहिलो मोडल नै अवतार-११ ल्याएको कम्पनीले पहिलो पटक यसमा हाइब्रिड टेक्नोलोजी दिएको छ ।
डिजाइनमा खासै परिवर्तन नभएको कुप्पे डिजाइन एसयूभी १७ वर्ष बीएमडब्लूमा काम गरेर आएका चीफ डिजाइनर नादर फगिहजादेहले डिजाइन गरेका हुन् । अवतार-११ को लम्बाइ ४८९५ एमएम, चौडाइ १९७० एमएम र उचाइ १६०१ एमएम छ । यसमा २९७५ एमएम लामो ह्वीलवेस छ ।
अवतार-११ को ड्यासबोर्डमा तीन स्कृन दिइएको छ । जसमा १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम र १०.२५ इन्चको फ्रन्ट प्यासेन्जर स्कृन दिइएको छ । ठूलो पानारोमिक सनरुफ र २५ स्पीकर भएको एसयूभीमा दुई वायरलेस फोन चार्जर पाउन सकिन्छ ।
हाइब्रिड इन्जिनसँग १.५ लिटर टर्बो चार्ज इन्जिन दिइएको छ । यसले गाडीको चक्कामा भने कुनै पावर दिदैन । यसले ब्याट्री चार्ज गर्न जेनेरेटरको काम मात्रै गर्छ । हाइब्रिड भर्सनमा ३९ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । इलेक्ट्रीक रेन्ज मात्रै २२५ किलोमिटर रहेको कारले फुल ट्याङ्की पेट्रोलमा १०६५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
ईभीमा कति फरक ?
फेसलिफ्ट अवतार-११ को इलेक्ट्रीक भर्सनमा ११६ किलोवाट आवरको ठूलो ब्याट्री दिइएको छ । यसअघि बजारमा उपलब्ध अवतारमा ९० किलोवाट आवरको ब्याट्री थियो । ठूलो ब्याट्रीको रेन्ज ८१५ किलोमिटरसम्म रहने दावी कम्पनीको छ । अब पुरानो ब्याट्रीमा अवतार आउने छैन ।
नयाँ ईभी तीन भेरियन्टमा चीनमा उपलब्ध छ । रियर ह्वील र अल ह्वील मोटरमा आउने अवतार-११ को सुरुवाती मूल्य ४६ डलर ६०० अमेरिकी डलर कायम गरिएको छ । जुन यसअघिको तुलनामा मूल्य पनि कम हो ।