काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो सफल जेडएस इभीको मिडलाइफ फेसलिफ्ट गरेको छ । आगामी मार्चसम्ममा नेपाल आउने अपेक्षा गरिएको फेसलिफ्ट जेडएस इभी मोडल पहिलेभन्दा ठूलो व्याट्री अप्सनमा उपलब्ध रहने छ ।
नेपाल आएदेखि नै निकै रुचाइएको एमजी जेडएस इभीको फेसलिफ्ट भर्सनमा व्याट्री वाहेक पनि थुप्रै नयाँ फिचरहरु थपिएको छ । अहिले विक्री भइरहेको जेडएस इभीको तुलनामा फेसलिफ्ट मोडलमा कति फरक छ भन्ने विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
एक्टेरियर डिजाइन
नयाँ जेडएस इभीमा अगाडिको भागमा पहिलेभन्दा फरक इनक्लोज ग्रिल हुनेछ । नयाँ ग्रिलले यसलाई अलग पहिचान दिएको छ । अहिले विक्री हुँदै आएको मोडल भने पेट्रोल कारको जस्तै डिजाइनमा थियो । त्यसैले धेरै मानिसले इभीको व्याच हेरेर मात्रै यसलाई छुट्टाउन सक्ने थिए ।

अहिले विक्री भइरहेको मोडलको बीचमा दिइएको चार्जिङ पोर्ट पनि फेसलिफ्ट मोडलमा साइड पट्टी दिइएको छ । अहिले बजारमा उपलब्ध जेडएस इभीमा ड्यासबोर्डबाट मात्रै चार्जिङ स्टाटस हेर्न सकिन्छ । तर, नयाँ इभीमा चार्जिङ पोर्टमै चारवटा स्टेजको एलइडी इन्डिकेटर दिइएको छ । त्यसका सहायताले कति चार्ज भयो सजिलै हेर्न सकिन्छ ।
नयाँ जेडएसमा लोअर ग्रिललाई केही ठूलो बनाइएको छ । तर, साइडमा दिइएको एयर इन्टेक भने सानो बनाइएको छ । यसमा नयाँ सेपको एलइडी हेडल्याम्प र रि–डिजाइन गरिएको एलइडी डिआरएल पाउन सकिन्छ । अहिलेको मोडलको तुलनामा नयाँ मोडलको हेडल्याम्प अझै सिल्कर तथा सार्प देखिएको छ ।

अर्को झट्टै याद हुने परिवर्तन अलोय ह्वील हो । नयाँ इभीमा नयाँ डिजाइनको विन्डमील स्टाइलको अलोय ह्वील पाउन सकिने छ । नयाँ मोडलको पछाडिको भाग पनि रि–डिजाइन गरिएको छ । रियर बम्पर तथा टेलल्याम्प अझै स्टाइलिस देखिएको छ । नयाँ टेलल्याम्प सोफिस्टीकेटेड ग्राफिक्सका साथै अझ स्पोर्टी बनाइएको छ ।
इन्टेरियर डिजाइन
नयाँ जेडएस इभीको इन्टेरियरमा पनि थुप्रै परिवर्तन भएको छ । इन्टेरियरको ओभरअल डिजाइन लेआउट पहिलाको जस्तै देखिपनि सबैभन्दा ठूलो परिवर्तन यसको इन्ट्रुमेन्ट क्लस्टरमा भएको छ ।
अहिले बजारमा उपलब्ध मोडलमा सेमी डिजिटल इन्टुमेन्ट क्लस्टर रहेको छ भने आउने नयाँ मोडलमा फुल्ल डिजिटल क्लष्टर पाउन सकिने छ । त्यस्तै ड्यासबोर्डको बीचमा ट्याबलेट साइजको आइस्मार्ट टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम थपिएको छ ।

अहिले उपलब्ध मोडलमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेकोमा नयाँ मोडलमा १०.१ इन्चको नयाँ ग्राफिक्स सहितको हुनेछ । तर, कम्पनीले अझै पनि वायरलेस एप्पल कार प्ले तथा एन्ड्रोइड अटोको सुविधा भने दिएको छैन ।
प्रायः सबै फङ्सन इन्फोटेन्मेन्ट सिस्टमबाटै कन्ट्रोल गर्न सकिने नयाँ फेसलिफ्ट मोडलमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, रियर आर्मरेष्ट जस्ता फिचर थप भएका छन् । तर, पछाडि यात्रा गर्ने यात्रुलाई रियर एसी भेन्ट भने अझै पनि दिइएको छैन ।
टेक्नीकल स्पेसिफिकेसन
एमजीले नयाँ जेडएस इभीमा ठूलो टेक्नीकल अपडेट गरेको छ । अहिले विक्री भइरहेको मोडलमा रहेको ४४.५ किलोवाट आवरको व्याट्री प्याकलाई अबको नयाँ मोडलमा स्ट्याण्डर्ड रेन्जको ५०.३ र लङरेन्जमा ७० किलोवाट आवरको दुई थरी व्याट्री दिएको छ । यी व्याट्रीले क्रमशः एक पटकको फुलचार्जमा कम्तीम ३२० र ४४० किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ । अहिले विक्री भइरहेको मोडलले २६२ किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको थियो ।
नयाँ जेडएस इभीमा मोटर साइज पनि बढेको छ । यसअघि ११२ किलोवाट क्षमताको मोटर रहेकोमा नयाँ मोडलको स्ट्याण्डर्ड रेन्जमा १३० किलोवाट र लङरेन्जमा ११५ किलोवाट क्षमताको मोटर दिइएको छ । यसअघि १४० किलोमिटर प्रतिघन्टाको टप स्पीड रहेको भएपनि नयाँ मोडलमा १७५ किलोमिटर प्रतिघन्टाको टप स्पीड पाउन सकिन्छ ।
स्टायडर्ड भेरियन्टको मोटर पावर फुल भएकोले यसले अधिकतम १७५ हर्सपावर र २८० न्यूटन मिटर टर्क जेनेरेट गर्दछ । त्यस्तै लङ रेन्जवाला अप्सनमा सानो साइजको मोटर भएकोले १५५ हर्सपावर र २८० एनएम टर्क प्रदान गर्छ ।

एमजी जेडएस इभीको लङरेन्ज भेरियन्टमा ११ किलोवाट थ्रिफेज अनबोर्ड चार्जर स्ट्याण्डर्ड रहेको छ । यसलाई शून्यबाट १०० प्रतिशत चार्ज गर्नका लागि १० घन्टा ३० मिनेट लाग्छ ।
मूल्य
नेपाली बजारमा अहिले विक्री भइरहेको जेडएस इभीको मूल्य ५० लाख ९९ हजार रहेको छ । नयाँ फेसलिफ्ट मोडलको मूल्य कति पर्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

अन्त्यमा
हामीले यहाँ चर्चा गरेको जेडएस इभी वेलायती स्पेक हो । नेपाल आउने स्पेक र वेलायती स्पेकमा केही फिचर फरक हुनसक्छ ।
नेपालका लागि मोरिस ग्यारेज (एमजी)को आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नयाँ जेडएस इभीको कुनै पनि टेक्नीकल डिटेल बाहिर ल्याएको छैन । त्यसको लागि कम्तीमा फेब्रुअरी पहिलो सातासम्म कुर्नु पर्ने हुन्छ ।

