काठमाडौं । भारत सरकारले सबै गाडीमा कम्तीमा ६ वटा एयरव्याग प्रयोग गर्नु पर्ने प्रस्ताव अगाडि सारेसँगै धेरै ग्राहकले मूल्य बढ्ने चिन्ता प्रकट गर्न थालेका छन् । भारत विश्वमै सबैभन्दा कम मूल्यका धेरै गाडी विक्री हुने बजार हो ।
अहिले भारतमा सर्वाधिक विक्री हुने मारुती सुजुकी अल्टो, स्वीफ्ट, वागेनआर, हुन्डाई ग्राण्ड आई १०, रेनो क्वीड जस्ता मोडल हुन् । जुन मूल्यका हिसावले पनि निकै सस्तो मानिन्छ । अब अक्टोबर १, २०२२ देखि उत्पादन हुने सम्पूर्ण कारमा ६ वटा एयरब्याग हुनु पर्ने कानुनी प्रस्ताव अगाडि आएसँगै धेरैले यसको सपोर्ट र विरोधमा आ-आफ्ना तर्क गरिरहेका छन् ।
भारत सरकारले अप्रिल १, २०१९ देखि हरेक कारमा दुईवटा एयरब्याग र एबीएस ब्रेकिङ सिस्टम हुनु पर्ने कानुनी व्यवस्था गरेको थियो । त्यही अनुसार अहिले सबै गाडीमा कम्तीमा दुई एयरव्याग उपलब्ध रहेका छन् ।
यसअघि अगाडि सिटमा यात्रा गर्ने प्यासेन्जर र यात्रुको लागि एयरव्यागको व्यवस्था गरिएको थियो । अव पछाडि सिटमा बस्ने यात्रुको लागि एयरव्याग दिन लागेको हो ।
नेपाली बजारमा आउने ९५ प्रतिशत कार भारतमा उत्पादन भएर आउने गरेको छ । यस्तोमा भारत सरकारले लगाउने अनिर्वाय नियमले नेपाल आउने कार पनि एयरव्याग थप भएर आउने छन् । साना गाडीमा पनि ६ वटा एयरव्याग लागेर आउनुको मतलव गाडीको मूल्य बढ्नु हो । त्यसले ग्राहकलाई भने पिरोल्ने छ ।

