बीवाइडीको इलेक्ट्रीकमा अर्को फड्को, नयाँ ब्राण्डमा अफरोड एसयूभी

काठमाडौं । बीवाइडीले आफ्नो नयाँ ब्राण्ड ‘फेङ चेङ बाओ’को नामबाट नयाँ मोडल बजारमा ल्याउने अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले ‘लियोपार्ड-५’ नामबाट आफरोड एसयूभी ल्याउन लागेको हो ।

नयाँ ब्राण्ड ‘फेङ चेङ बाओ’ बीवाइडीले सुरु गरेको ५ औं ब्राण्ड हो । यसअघि कम्पनीले अन्य ४ ब्राण्डबाट आफ्नो उत्पादन बजारमा ल्याइसकेको छ । कम्पनीले फेङ चेङ बाओ ब्राण्ड नेममा ल्याउन लागेको लियोपार्ड-५ को दुई नयाँ तस्बिर सार्वजनिक गरेको हो ।

कम्पनीले बाहिर ल्याएको दुई तस्बिरमा नयाँ गाडीको अगाडि र साइड प्रोफाइल देखाइएको छ । यसअघि परिक्षणको क्रममा पनि कभरले ढाकिएको तस्बिरहरु बाहिर आएका थिए ।

बीवाइडीले गत जुन ९ मा आफ्नो पाँचौ ब्राण्डको रुपमा ‘फेङ चेङ बाओ’ नाम सार्वजनिक गरेको थियो । बीवाईडीको यो बाहेक अरु डाइनेस्टी, आसियन, डेन्जा र याङवाङ ब्राण्डमा पनि गाडी उत्पादन गर्दै आएको छ ।

बीवाइडीले एसएफ कोड नेम दिएर विकास गरिरहेको यो नयाँ ब्राण्डमा अफरोड र बल्की एसयूभी मात्रै उत्पादन गर्नेछ । आफ्नो पहिलो मोडल लियोपार्ड-५ लाई कम्पनीले ‘बर्न टुबी वाइल्ड’ भनेको छ । यसको मतलव यो एसयूभी अफरोड क्षमतामा अब्बल रहने छ ।

फोर ह्वील ड्राइभ सिस्टममा आउने एसयूभीमा दुई मोटर सेटअप रहनेछ । प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको लियोपार्ड-५ को अन्य स्पेसिफीकेसन र मूल्यको विषयमा केही जानकारी बाहिर आएको छैन ।

कम्पनीले आधिकारीक घोषणा नगरेपनि चिनियाँ मिडियाहरुले यसको मूल्य ५५ हजार डलर हाराहारी रहने दावी गरेका छन् ।


Back_to_top