काठमाडौं । छिटो नाफा खोज्ने र ट्रेडिङ मात्रै गर्न रुचाउने निजी क्षेत्रको कारण नेपालमा पीपीपी मोडल पनि बलियो बन्न नसकेको अर्थसचिव घनश्याम उपाध्यायले बताए ।
मंगलबार नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो डाइलग २०८१’को ‘इनोभेटिभ मोबिलिटी फर इकोनोमिक डेभलपमेन्ट’ सेसनमा उनले उक्त धारणा राखेका हुन् ।
‘निजी क्षेत्र उत्पादनमा लागेन, सधैँ बनिबनाउ सामान ल्याएर बिक्री गर्ने र छिटो नाफा कमाउने विषयमा केन्द्रित भएको पाएका छौं । निजी क्षेत्र इनोभेटिभ नभएसम्म इनोभेटिभ मोबिलिटीमा काम गर्न सकिँदैन । किन भने सरकारसँग सिमित स्रोत र साधन छ,’ उपाध्यायले भने ।
निजी क्षेत्रले ल्याउने उपयुक्त राय र सुझावलाई कार्यान्वयन गर्दै अगाडि बढ्न सरकार सदैव तयार रहेको उपाध्यायले बताए । उनले भने, ‘यहाँ वस्तु उत्पादनमा काम गर्नुहोस्, सरकार सहयोग गर्न तयार छ ।’


