हायर पर्चेज र सवारी बिक्रेता कम्पनी शंकास्पद कारोबारको ‘रेड फ्ल्याग्स’मा

सांकेतिक तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतकाे वित्तीय सूचना इकाई (एफआइयू नेपाल)ले हायर पर्चेज कम्पनी र सवारी बिक्रेता कम्पनीलाई सन्दिग्ध कारोबार तथा गतिविधिको रेड फ्ल्याग्स (चेतावनी संकेत)को क्षेत्रमा राखेको छ ।

एफआइयू नेपालले सम्पत्ती शुद्धीकरण नियन्त्रण ऐन, २०६४ बमोजिम सन्दिग्ध कारोबार तथा गतिविधि (एसटीआर र एसएआर) प्रतिवेदनका लागि जारी मार्गदर्शनलाई अद्यावधिक गर्दै हायर पर्चेज कम्पनी र सवारी बिक्रेतालाई रेड फ्ल्याग्स राखेको हो ।

मार्गदर्शन अनुसार सन्दिग्ध कारोबारसँग सम्बन्धित रेड फ्ल्याग्सलाई सामान्य, क्षेत्रगत र अपराधजन्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

जसमा सामान्य रेड फ्ल्याग्स अन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआइ), नयाँ प्रविधिको प्रयोग र राजनीतिक रूपमा संलग्न व्यक्तिको सहभागिता जस्ता विषयहरू समेटिएका छन् ।

यसमा ग्राहकले आफ्नो पहिचान खुलाउन नचाहनु, व्यक्तिगत कागजात नदिनु, बारम्बार ठूलो रकम कारोबार गर्नु, आयस्रोत नखुलाई ठूलो रकम जम्मा वा ट्रान्सफर गर्नु, नयाँ प्रविधि प्रयोग गरी अस्वाभाविक कारोबार गर्नु, राजनीतिक रुपमा प्रभावशाली व्यक्तिको संलग्नाता देखिनु जस्ता गतिविधि पर्छन ।

त्यसैगरी, क्षेत्र विशेष रेड फ्ल्याग्स अन्तर्गत हायर पर्चेज कम्पनीहरू र सवारी बिक्रेता कम्पनीहरूमा देखिन सक्ने सम्भावित जोखिमहरू उल्लेख गरिएको छ । जसमा हायर पर्चेज कम्पनीहरुमा ग्राहकले नगदै ठूलो मात्रमा अग्रिम रुपमा भुक्तानी गर्नु, उक्त रकमको आय स्रोत नखुल्नु, बारम्बार गाडी किन्ने तर प्रयोग नगर्ने, तेस्रो पक्षबाट भुक्तानी आउनु जस्ता गतिविधि पर्छन् ।

त्यस्तै, अपराधजन्य कार्य आधारित रेड फ्ल्याग्सहरू तस्करी, कर छल, भ्रष्टाचार, ठगी, वा अन्य अपराधजन्य कार्यबाट आएको रकम कारोबारमा प्रयोग भएको शंका लाग्ने संकेतहरू देखिन्छन् ।

अद्यावधिक मार्गदर्शनले सन्दिग्ध कारोबार तथा गतिविधि प्रतिवेदनको गुणस्तर सुधार गर्न, वित्तीय अनुशासन मजबुत पार्न र अवैध आर्थिक गतिविधिहरू नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

नयाँ गाइडलाइनको उद्देश्य सूचक संस्थाहरूलाई सन्दिग्ध कारोबार र गतिविधि पहिचान, मूल्यांकन तथा प्रतिवेदन प्रक्रियामा थप स्पष्टता र दक्षता प्रदान गर्नु रहेको छ। यसमार्फत मनी लउन्डरिङ र आतंकवाद वित्त पोषण (एएमएल सीएफटी नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ।


Back_to_top