काठमाडौं । चांगान ग्रुप अन्तर्गतको दीपल ब्राण्डमा एकपछि अर्को सानदार एसयूभी नेपाल आउन थालेका छन् । कम्पनीले सुरुवातमा ल्याएको एस-०७ र त्यसपछि ल्याएको एस-०५ दुबै निकै चर्चित भए ।
नेपाल ल्याएको छोटो समयमा नै दीपल एस-०५ ले मानिसलाई लोभ्याउन सफल भएको छ । नाडा अटो शो २०२५ मा सार्वजनिक भएको एस-०५ थाइल्याण्डमा उत्पादन भएर नेपाल आएको हो ।
मूल्यको हिसावले ४८ लाख ९९ हजारबाटै सुरु भएको एस-०५ ले लग्जरी फिचर, मोर्डन क्याविन र आकर्षक लुक्सको कारण धेरैको ध्यान खिच्न सफल भएको हो ।
अबभने अघिल्ला दुई एसयूभीभन्दा पनि कम मूल्यको एसयूभी दीपल ब्राण्डमा आउने भएको हो । चीनमा नेभो क्यू-०५ नामबाट सार्वजनिक भएको एसयूभी नेपाली बजारमा भने दीपल ब्राण्डमा आउने छ । यसको नाम के हुन्छ अहिल्यै ठ्याक्कै भन्न सकिँदैन ।
सन् २०२६ को पहिलो क्वाटरसम्ममा नयाँ एसयूभी नेपाल आउने आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ । कम्पनी स्रोतका अनुसार अबको ६ महिना भित्र यसको नेपालमा परीक्षण सुरु हुनेछ ।
यसलाई मूल्यका हिसावले पनि आकर्षक बनाउन कम्पनीले ४०.३ किलोवाट आवर र ५१.९ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । यसको अधिकतम रेन्ज ३५० किलोमिटर हाराहारी हुनेछ । सीएलटीसीले भने क्रमशः ४०५ र ५०६ किलोमिटर रेन्ज भनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा १२० किलोवाटको मोटरमा उपलब्ध हुने क्यू-०५ नेपाली बजारमा भने १०० किलोवाटभन्दा कम पीकपावर भएको मोटरमा उपलब्ध हुनेछ । त्यसको मुख्य कारण सरकारी कर हो ।
आकर्षक एसयूभी लुक्समा देखिएको क्यू-०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस दिइएको छ ।
चांगानका अनुसार क्यू-०५ कम्प्याक्ट एसयूभी ‘डिजिटल विङ २.०’ डिजाइन ल्याङ्गवेजमा तयार भएको हो । आकर्षक हेडल्याम्प, छतमा लाइडार सेन्सर, सिंगल टेलगेट युनिट उपलब्ध एसयूभीमा थुप्रै आधुनिक फिचरहरु उपलब्ध छन् ।

