काठमाडौं । पैसा लगानी गर्ने विषयमा मानिसले हजार पटक सोच्छ । बजार सर्भे गर्छ, उत्पादनसँग जोडिने कच्चा पदार्थ आयातको अवस्था अध्ययन गर्छ । घर बनाउँदा प्रयोग हुने रड, सिमेन्ट, इँट्टा, बालुवादेखि पाइपसम्मको कुरामा ठूलो बहस गर्छ । तर, दैनिक प्रयोग गर्ने वस्तुको क्वालिटी राम्रो देखियो भने झट्टै निर्णय लिन्छ ।
माथि उल्लेख गरिएका विषयभन्दा फरक छैन नेपालको कार बजार । नेपाल औसतमा वार्षिक १५ हजार आसपासको संख्यामा कार बिक्री हुने बजार हो । सन् २०२० देखि २०२४ सम्मको ५ वर्षलाई नियाल्ने हो भने पनि औसत १७ हजारको दरले कार र डबल क्याप पीकअपहरू आयात भएका छन् ।
डबल क्याब पीकअप पनि नेपालमा प्यासेन्जर सेग्मेन्टमै प्रयोग हुने भएकोले पीकअपको तथ्यांक कारको सूचीमा समावेश गरिएको हो । विगत ५ वर्षमा ८५ हजार १२९ युनिट चारपाङ्ग्रे साधन नेपाल आएका छन् ।
५ वर्षमा भएको उथलपुथल
सन् २०२० मा १३ हजार ३३६ युनिट कार आयात भएको थियो । एक वर्षको आयातमा केबल ईभी हिस्सा २.४९ प्रतिशत मात्र थियो । जहाँ १३ हजार ४ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्री हुँदा ईभी केबल ३३२ युनिट मात्र बिक्री भएको थियो ।
ईभीको आयात सन् २०२१ मा केही बढ्यो । त्यो वर्ष २६ हजार ७५७ युनिट चार पाङ्ग्रे साधन आयात भयो । त्यो वर्ष २५ हजार ७०७ युनिट इन्टरनल कम्बस्चन इन्जिन भएको गाडी बिक्री हुँदा ईभी १ हजार ५० युनिट बिक्री भएको थियो । उक्त वर्ष ईभीको हिस्सा ३.९२ प्रतिशत पुग्यो ।
विद्युतीय कारको बजार हिस्सा ४ प्रतिशतभन्दा कमबाट बढेर २०.७९ प्रतिशत पुगेको २०२२ मा हो । एकैपटक ईभीको बजार हिस्सा बढ्नुमा हुन्डाई कोना र टाटा नेक्सनको ठूलो भूमिका रह्यो । उक्त वर्ष केबल ११ हजार ५२६ युनिट चारपाङ्ग्रे साधन आयात भए । त्यसमा २ हजार ३९६ युनिट ईभी आयात हुँदा ९ हजार १३० युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको थियो ।
सन् २०२३ ईभी आयातको लागि ऐतिहासिक वर्ष बन्यो । यही वर्षबाट पेट्रोलियम पदार्थबाट चल्ने कारलाई उछिनेर ईभी अगाडि बढेको हो । कुल १३ हजार ६६८ युनिट चार पाङ्ग्रे साधन आयात भएकोमा ईभी ७ हजार ७४९ युनिट र पेट्रोलियम पदार्थबाट चल्ने गाडी ५ हजार ९१९ युनिट मात्रै आयो । जहाँ ईभीको हिस्सा ५६.६९ प्रतिशत पुग्यो ।
ईभीको हिस्सा बढ्ने रफ्तारले सन् २०२४ मा पनि निरन्तरता पायो । सन् २०२४ मा १९ हजार ८४२ युनिट चारपाङ्ग्रे साधन आयात भयो । जसमा १३ हजार ३९८ युनिट ईभी आयात हुँदा ६ हजार ४४४ युनिट इन्टरनल कम्बस्चन इन्जिन भएका गाडी आए । गतवर्ष ईभीको बजार हिस्सा ६७.५२ प्रतिशत पुग्यो ।