काठमाडौं । केई ब्राण्डको सानो ह्याचव्याक कार लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोविलिटी र गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ अटोमोवाइलले संयुक्त रुपमा बिक्री गर्दै आएको छ । सानो ह्याचव्याक कार दुई ढोका र ४ ढोका दुबै अप्सनमा उपलब्ध छ ।
मूल्यको आधारमा लोडेड फिचर भएको केई इक्यूट निकै राम्रो संख्यामा बिक्री हुँदै आएको छ । केही दिनअघि दुबै कम्पनीले संयुक्त रुपमा कार्यक्रम गरेर ३० जनालाई इक्यूट डेलिभरी दिएका थिए ।
साना र कम मूल्यका कारको बजार अहिले पनि राम्रो रहेको पाइन्छ । सहरी क्षेत्रमा यात्रा गर्नेका लागि साना कार किफायतीसँगै यात्राको लागि सजिलो पनि मानिन्छ । त्यसैले बजारमा दुई ढोका र चार ढोका भएका साना कारको बिक्री राम्रै संख्यामा हुँदै आएको छ ।
विद्युतीय कारमा सरकारले ८० प्रतिशतसम्म कर्जा लगानी गर्न बैंक तथा वित्तिय संस्थालाई छुट दिएको छ । त्यही कारण इक्यूट-०४ कार किन्दा ५ लाख रुपैयाँ हाराहारी डाउन पेमेन्ट गर्दा पुग्छ । यसको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
मासिक किस्ता कति ?
कारहरुको मासिक किस्ता जहिल्यै कर्जा रकममा भर पर्छ । यदि, तपाईले २० प्रतिशत मात्रै डाउन पेमेन्ट वापत बुझाएर इक्यूट-०४ किन्नु भयो भने मासिक ३१ हजार २२५ रुपैयाँ हाराहारी मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।
अहिले बैंक तथा वित्तिय संस्थाले परिवर्तन नहुने ब्याजदर मै कर्जा सुविधा उपलब्ध गराएका छन् । कर्जाको ब्याजदर पनि ८ प्रतिशत हाराहारी मात्रै पर्छ । त्यसैले हामीले ८ प्रतिशत ब्याजदरलाई नै आधार मानेर ७ वर्षसम्म मासिक किस्ता बुझाउने मासिक किस्ता गणना गरेका हौं ।
यस्तो छ इक्यूट-४
पाँच जनाले सहजै यात्रा गर्ने इक्यूट-०४ मा ४० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यो कारमा सीएटीएलले बनाएको २८.०४ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको छ । कम्पनीका अनुसार यो कारले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।
नेपालको बाटो सुहाउँदो १६५ एमएमको ग्राउण्ड क्यिरेन्स भएको यो कारमा २३७ लिटरको बुट स्पेश रहेको छ । यसमा पछाडिको सिटमा बीचको सिटमा बस्ने यात्रुले समेत हेड रेष्ट पाउने छन् ।
आधुनिक फिचरहरूले सुसज्जित यो कारको क्याबिनमा सेन्टर एलसीडी टचस्क्रीन, ब्लुटूथ कनेक्टीभीटी, एप्पल कारप्ले , एन्डरोइड अटो तथा ६ वटा स्पीकरसहितको साउण्ड सिस्टम रहेको छ । यो कारमा किलेस इन्ट्री, वानटच स्टार्ट, कन्सिल्ड इलेक्ट्रीक डोर ह्याण्डल तथा एड्भान्स इनर्जी रिकभरी सिस्टम रहेको छ ।
सुरक्षाको लागि यो कारमा एबीएस, ईबीडी, टीसीएस, टायरप्रेसर मोनिटरिङ सिस्टम, डिउल एयरब्याग लगायत फिचर रहेको छ ।