दुई सातापछि नयाँ मोटरसाइकल बिक्री सुरू गर्दै यामाहा, यस्तो हुनेछ मूल्य

काठमाडौं । यामाहाको बहुप्रतिक्षित मोटरसाइकल डब्लूआर १५५ नेपाली बजारमा बिक्री सुरू हुने भएको छ । कम्पनीले नाडा अटो शो २०२४ मा डब्लूआर १५५ प्रदर्शन गरेको थियो ।

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर डब्लूआर १५५ नेपाल ल्याएको हो ।

अहिले टेष्ट ड्राइभका लागि उपलब्ध रहेको मोटरसाइकल फेब्रुअरी दोस्रो सातासम्ममा बिक्रीको लागि उपलब्ध हुने कम्पनी स्रोतले जानकारी दियो ।

नेपाली बजारमा बढ्दो एड्भेन्चर टूरिङ कल्चरलाई मध्यनजर गर्दै कम्पनीले डब्लूआर १५५ बिक्री सुरु गर्न लागेको हो । यसमा ८.१ लिटर क्षमताको इन्धन ट्याङ्क, कन्भेन्सनल ह्याण्डलबार, सिंगल पिस सिट, स्पोक ह्वील र एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिएको छ ।

यामाहा डब्लूआर १५५ को इन्ट्रुमेन्ट क्लष्टरमा ओडो मिटर, ट्रिप मिटर, औषत इन्धन खपत, गियर पोजिसन जस्ता जानकारी पाउन सकिन्छ ।

कम्पनीले डब्लूआर १५५ मोटरसाइकलमा १५५ सीसी क्षमताको लिक्विड कुल्ड, भोर भल्भ, एसओएचसी भीभीए इन्जिन दिएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा अधिकतम १६.७ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.३ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यो अफरोड मोटरसाइकलमा अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्स दिइएको छ । यसमा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ ।

नयाँ मोटरसाइकलको सिट हाइट ८८० एमएम छ । २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको मोटरसाइकल अफरोड र सहरी दुबै बाटो सुहाउँदो ड्यूल पर्पोज टायर उपलब्ध हुनेछ ।


Back_to_top