काठमाडौं । फ्रिल्याण्डर नाम ल्याण्ड रोभरले सन् १९९७ मा प्रयोग गरेर त्यति बेलाको सबैभन्दा सस्तो एसयूभी बजारमा ल्याएको थियो । अहिले ल्याण्ड रोभर डिस्कभरी स्पोर्ट नामबाट उत्पादन भइरहेको एसयूभी पुरानो फ्रिल्याण्डर हो ।
ल्याण्ड रोभरले सन् २०१४ पछि फ्रिल्याण्डर नामको सट्टा डिस्कभरी स्पोर्ट प्रयोग गर्न थालेको हो । अहिले त्यही नामबाट सन् २०२४ मा ज्यागुअर ल्याण्ड रोभर र चेरी अटोमोबाइल मिलेर फ्रिल्याण्डर नामबाट न्यू इनर्जी ब्राण्ड स्थापना गरेको हो ।
कम्पनीले पहिलो मोडल फ्रिल्याण्डर–८ को स्केश बाहिर ल्याएदेखि नै यसले चर्चा पाइरहेको छ । खासगरी चिनियाँ बजारलाई ध्यानमा राखेर आउन लागेको फ्रिल्याण्डर ब्राण्डमा चेरीको सहभागिताले चीनमा बढी नै चर्चा पाएको हो ।
ल्याण्ड रोभरको डिजाइन बाकेर आएको फ्रिल्याण्डरमा प्रविधि र प्लेटर्फम चेरीको हुनेछ । ५.१ मिटर लामो फ्रिल्याण्डर–८ ल्याण्ड रोभर डिफेन्डर ११० भन्दा पनि लामो छ । यसलाई चीन ६ सिट र अन्य देशमा ५ सिट क्षमताको एसयूभीको रुपमा बिक्री गर्ने अनुमान गरिएको छ ।
प्योर ब्याट्री इलेक्ट्रीक र हाइब्रिड टेक्नोलोजीको साथ आउने फ्रिल्याण्डर-८ लाई कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । यसमा एयर सस्पेन्सन रहने छ । साथै, लाइडारमा आधारित एडास र अफरोड केन्द्रित ड्राइभ मोडहरु उपलब्ध हुनेछन् । यसमा सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग हुनेछ । तर, प्योर ब्याट्री इलेक्ट्रीक मोडलमा कुन साइजको ब्याट्री प्रयोग गर्ने भन्ने जानकारी बाहिर आएको छैन ।
कम्पनीले हाइब्रिड मोडलमा भने ६०किलोवाट आवरको ब्याट्री प्रयोग गर्ने जानकारी दिइसकेको छ । यसको सुरूवाती मूल्य पनि ४४ हजार अमेरिकी डलर हाराहारी हुने अनुमान छ ।


