उड्ने कारको मूल्य ३ करोड २५ लाख

काठमाडौं । ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन (जीएसी)ले हंङकङमा चलिरहेको ‘इन्टरनेशनल अटो एण्ड सप्लाई चेन एक्स्पो’मा उड्ने कार (गोबी एयर क्याव)को प्रदर्शन गर्दै बुकिङ समेत खोलेको छ । भर्टिकल टेकअफ र ल्याण्डिङ क्षमता हरेको गोबी एयर क्याबको मूल्य ३ करोड २५ लाख रुपैयाँ (२ लाख ३३ हजार ९०० अमेरिकी डलर) राखेर बुकिङ खुलाएको हो ।

गत वर्षको डिसेम्बरमा पहिलो पटक देखाएको उक्त फ्लाइङ कारको अहिले एयर ओर्दिनेस परीक्षण चलिरहेको छ । सन् २०२६ को अन्तिमबाट यसको आधिकारीक बिक्री सुरु हुने गोबी ब्राण्डका हेड सु चिङपेङ बताए ।

दुई जनाले यात्रा गर्न सक्ने उक्त फ्लाइङ कारमा हाइ डेन्सीटी भएको सिलिण्डर आकारको ब्याट्री प्याक प्रयोग भएको छ । यो उड्ने कारलाई २५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । त्यस्तै केबल १५ मिनेटमा ५० बाट १०० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

जीएसीले यस कारमा ५ जी कनेक्टीभीटी, इन्टेलिजेन्ट असिस्ट, टेम्प्रेचर कन्ट्रोल फिचर दिएको छ । उक्त कारको बडी एभिएसन ग्रेडको कार्वन फाइबर कम्पोजीट मेटेरियलले बनेको छ । जीएसीका अनुसार यस कारमा लेवल-४ अटोनोमस ड्राइभिङ सिस्टम छ । सुरुमा यस कारको फ्लाई रेन्ज ३० किलोमिटरसम्म छ ।

पछिल्लो समय चिनियाँ अटोमोवाइल कम्पनीहरु फ्लाइङ कार बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । केही समय अगाडि एक्सपेङले फ्लाइङ कार उत्पादन बेस बनाउन थालेको र मास प्रोडक्सन सन् २०२६ बाट सुरु गर्ने घोषणा गरेको थियो ।

त्यस्तै अर्काे कम्पनी चांगानले पनि गत मार्चमा नै सन् २०२५ कै अन्त्यसम्ममा फ्लाइङ कारको टेस्ट फ्लाइट गर्ने जनाएको छ । चेरी मोटर्सले पनि अगामी अक्टुबरमा पहिलो फ्लाइङ कार लन्च गर्ने योजना सार्वजनिक गरेको थियो ।


Back_to_top