ग्यालेक्सी ई-फाइभको दुवै भेरियन्ट ठूलो ब्याट्रीमा मात्रै, कति पर्ला मूल्य ?

काठमाडौं । जिलीको ग्यालेक्सी ई-फाइभ एसयूभी नेपाल आएको छ । यसलाई एलआरआर ग्रुपले नेपाली बजारमा ल्याएको हो ।

निकै अगाडिदेखि जिलीका गाडी नेपाल आउने चर्चा भइरहेको थियो । त्यस बीचमा प्रोटोन इमास-सेभेन नेपाल आएको थियो । जिली ग्यालेक्सी र प्रोटोन इमास-सेभेन एउटै गाडी हो ।

चिनियाँ कार निर्माता जिलीले उत्पादन गरेको ग्यालेक्सी ई-फाइभ अन्तर्राष्ट्रिय बजारमा राम्रो संख्यामा बिक्री हुँदै आएको क्रसओभर एसयूभी हो । यसको प्रतिस्पर्धा अहिले बीवाइडी एटो-थ्रीसँग चलिरहेको छ ।

एलआरआर ग्रुपले साउन महिना बाटै यसको बिक्री सुरू गर्ने जनाएको छ । कम्पनीका अनुसार बालुवाटार नजिक बन्दै गरेको शोरुम सम्पन्न हुने वित्तिकै ग्यालेक्सी इ-फाइभको बिक्री सुरू हुने कम्पनीको भनाइ छ ।

‘अहिले केही युनिट गाडी आइसकेको छ । छिट्टै थप गाडी पनि आउँछ । हामी साउन मै यसको आधिकारिक बिक्री सुरू गर्नेछौं’, कम्पनी स्रोतले भन्यो ।

कम्पनीका अनुसार ग्यालेक्सी ई-फाइभमा जिली आफैँले उत्पादन गरेको ‘एजिस सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री’ प्रयोग भएको छ । विभिन्न दुई भेरियन्टमा नेपाल आएको ई-फाइभमा ६०.२२ किलोवाट आवरको ठूलो ब्याट्री मात्रै उपलब्ध हुनेछ ।

मूल्यको हिसाबले भेरियन्ट अनुसार ५७ लाख र ६७ लाख हाराहारी हुने भए पनि ब्याट्री साइज भने एउटै हुने कम्पनीको भनाइ छ । उक्त ब्याट्रीले ४१० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले प्रमाणित गरेको छ ।

जिलीको ‘ग्लोबल मोडुलर आर्किटेक्चर’मा तयार भएको ग्यालेक्सी ई-फाइभको साइज ठूलो छ । यसको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

ग्यालेक्सी ई-फाइभमा एचयूडी हेडअप डिस्प्ले, १०.२ इन्चको फ्लोटिङ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर प्रयोग भएका छन् ।

ग्यालेक्सी इ-फाइभ ४०० भोल्ट आर्किटेक्चरमा बनेको एसयूभी हो । यसमा दिइएको इन्टेलिजेन्ट ड्राइभ सिस्टमसँग ११ मुख्य कम्पोनेन्ट जोडिएको छ । जसमा मोटर, इलेक्ट्रीक कन्ट्रोल लगायत जोडिएको छ । १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको गाडीले ३२० एनएम टर्क प्रदान गर्छ ।


Back_to_top