काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले ग्राण्ड आई १० नियोसको परिक्षण सुरु गरेको छ । थर्ड जेनेरेशन आई १० अन्तर्गत अहिले विक्री भइरहेको नियोस मोेडलको फेसलिफ्टको परिक्षण सुरु भएको हो ।
हुन्डाईले फेसलिफ्ट मोडलको अगाडि र पछाडिको भागलाई छोपेर परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् । अगाडिको भाग ढाकेको कारण यसको फ्रन्ट ग्रिल, बम्पर, हेडलाइट, डे टाइम रनिङ लाइट र फगल्याम्प हाउजिङमा परिवर्तन हुने अनुमान लगाउन सकिन्छ ।
हुन्डाईले ग्राण्ड आई १० नियोसको टेल लाइट र पछाडिको बम्परमा पनि परिमार्जन गरेको छ । कम्पनीले फेसलिफ्ट मोडलमा थप फिचर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
फेसलिफ्ट मोडलमा प्रोजेक्टर हेडल्याम्प, ग्लसी ब्ल्याक कलरको रेडियटर ग्रिल, ग्रोम फिनिसिङसहितको डोर ह्याण्डल, डायमण्ड कट अलोय ह्वील, ब्ल्याक आउट पिलर, सार्क फिन एन्टीना जस्ता एक्सटेरियर फिचरले नियोसलाई प्रिमियम बनाएको छ ।
यसको इन्टेरियरलाई उत्कृष्ट बनाउन ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, रियर एसी भेन्ट, वायरलेस चार्जर जस्ता फिचर दिएर आउने फेसलिफ्ट मोडलमा कुनै पनि किसिमको मेकानिकल परिवर्तन भने हुने छैन ।
हुन्डाईले यसलाई १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर टर्बो चार्ज्ड इन्जिनमा यसलाई ल्याउने छ । नेपालमा भने ग्राण्ड आई १० नियोस १.२ लिटर इन्जिनमा मात्रै उपलब्ध रहेको छ ।


