भारतमा कर घट्दा ११ लाखसम्म सस्तिने भयो कारको भाउ, नेपालमा पनि घट्ला ?

काठमाडौं । भारतमा नयाँ कर प्रणालीका कारण अटोमोबाइल क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

भारत सरकारले यही सेम्टेम्बर २२ देखि सुधारिएको नयाँ कर प्रणाली जीएसटी २.० लागू गर्ने घोषणा गरेसँगै गाडीको मूल्य घट्ने र बिक्री बढ्ने अपेक्षा गरिएको हो ।

भारतले हाल सवारी साधनमा गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) र कम्पेन्सेसन (सेस) कर लगाउँदै आएको छ । सेप्टेम्बर २२ देखि सेस खारेज गरी जीएसटी मात्र लागू गर्ने भएको हो । यससँगै अधिकांश गाडीको मूल्य सस्तिने भएको हो ।

नयाँ कर प्रणाली अनुसार साना कारमा औसतमा १० देखि १२ प्रतिशत र एसयूभी/एमपीभीमा ८ प्रतिशत घट्ने भएको छ ।

हाल ४ मिटरभन्दा कम लम्बाइ, १२०० सीसीभन्दा कमका पेट्रोल र १५०० सीसीभन्दा कमका डिजेल कारका जीएसटी र सेस गरी कुल २९ देखि ३१ प्रतिशतसम्म कर लाग्दै आएको थियो । अब भने १८ प्रतिशत मात्रै जीएसटी लाग्ने भएको छ ।

त्यस्तै, एसयूभी र एमपीभीमा ४३ देखि ५० प्रतिशतसम्म कर लाग्दै आएको थियो भने अब जीएसटी मात्रै ४० प्रतिशत लाग्ने भएको छ ।

त्यस्तै, ३५० सीसीसम्मको दुइपाँग्रे सवारी साधनमा पनि जीएसटी १८ प्रतिशतमा झारिएको छ । जसले मोटरसाइकलको मूल्य २० हजार भारुसम्म घट्ने भएको छ ।

यससँगै मुख्य ब्राण्डले सरकारले दिएको कर छुट उपभोक्तमा ट्रान्सफर गर्ने घोषणा गरेका छन् । सोही अनुसार धमाधम मूल्य घटाउन थालेका छन् ।

कुनले कति घटाए मूल्य ?

हुन्डाईले आफ्ना कारको मूल्य २ लाख ४० हजार भारुसम्म घटाएको छ । जसमा ग्राण्ड आइ १० नियोसमा ७४ हजार, अउरामा साढे ७८ हजार, भेन्यू, १ लाख २३ हजार, क्रेटा ७२ हजार, क्रेना एन लाइनको मूल्य ६० हजार भारु सस्तिने भएको छ ।

मारुती सुजुकीले अल्टो, वागेन, सेलेरियो, बलेनो लगायत कारमा ३६ हजारदेखि १ लाख १० हजार भारुसम्म मूल्य घटाउने घोषणा गरेको छ ।

त्यस्तै, महिन्द्राले बोलेरो नियो, थार, स्कर्पियो एन, एक्सयूभी ७०० लगायत एसयूभी एमपीभीमा १.०१ लाखदेखि १.५६ लाख भारुसम्म छुट दिने भएको छ ।

टाटा मोटर्सले साना कार र एसयूभीमा १.४५ लाख भारुसम्म मूल्य घटाएकाे छ ।  टाटाले टियागोमा ७५ हजार, टिगोरमा ८० हजार, अल्ट्रोजमा १.१० लाख, पंचमा ८५ हजार, नेक्सनमा १ लाख ५५ हजार र ह्यारियरको १ लाख ४० हजार भारु मूल्य घटाउने घोषणा गरेको छ ।

 

टोयोटाले विभिन्न मोडलमा साढे ३ लाखसम्म र कियाले सोनेटमा १.६४ लाख, सेल्टोसमा ७५ हजार, कार्निभल एमपीभीमा साढे ४ लाख भारुसम्म छुट घोषणा गरेको छ ।

फक्सवागेनले सबै लाइनअपमा सवा ३ लाख, स्कोडाले ५ लाख ८० हजार भारु, रेनोले ९६ हजारसम्म र एमजीले ३ लाख भारुसम्म छुट घोषणा गरेको छ ।

त्यस्तै, लग्जरी ब्राण्ड मर्सिडेज बेन्जमा ११ लाखसम्म, बीएमडब्लूले ८ लाख ९० हजार, अउडी, लेक्सस, ल्याण्डरोभरले न्यूनतम ३.७८ लाखदेखि ११ लाख भारुसम्म छुट दिएका छन् ।

नेपालमा पनि घट्ला ?

जीएसटी २.० लागू भएपछि भारतमा गाडीको मूल्य औसतमा १० प्रतिशत सस्तिने भएको छ । यसको लाभ थोरै भए पनि नेपालले पनि पाउने छ ।

भारतमा गाडीको मूल्य सस्तिएसँगै नेपालमा आयात हुने गाडीको मूल्य पनि केही घट्ने देखिन्छ । यद्यपि, नेपालमा कर उच्च भएकाले भारतमा जुन अनुपातमा घट्छ, नेपालमा पनि सोही अनुपातमा घट्दैन ।


Back_to_top