काठमाडौं । ग्रेटवाल मोटर मोटर्सका उत्पादन जारी लकडाउन सकिएको केहि समयपछि नेपाल आउने भएको छ । यहि आर्थिक वर्ष भित्रै ग्रेटवालका उत्पादन नेपाल ल्याउनेगरि भिजी इम्पेक्सले काम गरिरहेको हो । यद्यपी कुन मितिमा विक्री सुरु गर्ने भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स तीन महिनाअघि नेपालको लागि ग्रेटवालको आधिकारीक वितरक नियुक्त भएको थियो । डिरल नियुक्त भएसँगै कम्पनीले आफ्नो आधिकारीक फेसबुक पेज ‘जीडब्ल्यूएम नेपाल’ (GWM Nepal) संचालनमा ल्याएर आफ्ना उत्पादनको बारेमा जानकारी दिदै आएको थियो ।
कम्पनीले सुरुवातमा नै ग्रेटवाल, ओरा र हावल ब्राण्डका विभिन्न कार, पीकअप र एसयूभी नेपाली बजारमा ल्याउने जनाएको छ ।
ग्रेटवालको चर्चित इलेक्ट्रीक ब्राण्ड ओराको आर १, ग्रेटवालको पीकअप र हावलका विभिन्न रेञ्जका एसयूभी नेपाली बजारमा आउने छ ।
चर्चामा सानो इलेक्ट्रीक कार
भिजी इम्पेक्सले नेपाल ल्याउने संसारकै सस्तो मध्येको एक इलेक्ट्रीक कार ओरा आर १ धेरै नेपालीले प्रतिक्षा गरेको मोडलमा पर्छ । यसमा धेरै इलेक्ट्रीक कार प्रेमीको आँखा परिरहेको छ ।
यसमा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । ३३ किलोवाट कै इलेक्ट्रीक मोटर जडान गरिएको छ । यसलाई प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा कुदाउन सकिने छ । एक पटकको फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने ओरा आर १ मूल्यकै कारण चर्चामा रहेको मोडल हो । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ६ हजार डलर हाराहारीमा रहेको छ ।
ओरा आर १ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

