हंशराज हुलाचन्दले ९ महिनामै गर्यो साढे १६ अर्बको व्यापार

काठमाडौं । नेपालमा तीन ब्राण्डका माटरसाइकल बिक्री गर्दै आएको गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलाचन्द एण्ड कम्पनीको व्यापारमा उल्लेख्य सुधार आएको छ । कम्पनीले चालु आवको ९ महिनामै गत वर्षभरीमा गरेभन्दा धेरै आम्दानी गर्न सफल भएको हो ।

कम्पनीले चालु आवको ९ महिनामा कुल १६ अर्ब ४६ करोड रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ । जबकि गत आर्थिक वर्षमा कुल १५ अर्ब ६६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीकाे मोटरसाइकल व्यापार बढेसँगै आम्दानीमा पनि सुधार आएको हो । कम्पनीले हाल बजाज, केटीएम, ट्रायम्फ ब्राण्डका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीको देशभर ३०० बढी शोरुम र आधिकारिक सर्भिस सेन्टर छन् ।

पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानीमा लगातार सुधार आएको हो । कम्पनीले सन् २०२४ मा १० अर्ब ६७ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

व्यवसायको कारोबारमा भएको वृद्धि र कर्जाको ब्याजदर घट्दै जाँदा कम्पनीको ऋण तिर्ने क्षमतामा पनि सुधार भएको इक्राले जनाएको छ । कम्पनीको चालु आवको ९ महिनामा ब्याज कभरेज अनुपात ४ गुणा पुगेको छ । गत वर्ष ३ गुणा मात्रै थियो ।

कम्पनीको आम्दानी बढे पनि संचालन नाफा मार्जिन भने घटेको छ । गत वर्ष नाफा मार्जिन ५.७ प्रतिशत रहेकोमा चालु वर्षमा घटेर ४.२ प्रतिशतमा सीमित भएको हो । ऋणको अनुपात पनि करिब १.१ गुणामा सीमित रहेको र वित्तीय संरचना तुलनात्मक रूपमा सन्तुलित रहेको इक्राले जनाएको छ ।

व्यापारमा सुधार आए पनि कम्पनीको चुनौती भने कायमै रहेको उल्लेख गरेको छ । नेपालमा होन्डा, यामाहा, हिरो र टीभीएसजस्ता ब्रान्डसँग तीव्र प्रतिस्पर्धा, ‘पल्सर’ मोडल माथिको उच्च निर्भरतालाई चुनौती देखाएको छ । यद्यपि कम्पनीले ट्रायम्फ मोटरसाइकल, चेतक विद्युतीय स्कुटर तथा सर्वो लुब्रिकेन्ट व्यवसाय विस्तारमार्फत आम्दानीका स्रोत विविधीकरण गर्ने प्रयास गरिरहेको जनाएको छ ।

कम्पनीले व्यवसाय विस्तारका लागि ६ अर्ब २१ करोड ७० लाख रुपैयाँ कर्जा लिने भएको । कम्पनीले दीर्घकालीन २८ करोड ७० लाख र अल्पकालीन ५ अर्ब ९३ करोड रुपैयाँ कर्जा लिन लागेको हो ।

कम्पनीलाई इक्राले दीर्घकालीन कर्जा सुविधाका लागि एलबीबीबी माइनस र अल्पकालीन कर्जाका लागि त्रिपल ए रेटिङ दिएको छ । कम्पनीले पाएको रेटिङ राम्रो मानिन्छ ।


Back_to_top