काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल निर्माता हिरोले आफ्नो सर्वाधिक सफल डबल प्रपस बाइक ‘एक्सपल्स-२१०’ बजारमा ल्याउने भएको छ । कम्पनीले जनवरी १७ तारिखदेखि नयाँ दिल्लीमा हुने भारत मोविलिटी एक्स्पो २०२५ बाट एक्सपल्स-२१० सार्वजनिक गर्ने भएको हो ।
इटालीको मिलानमा भएको इआईसीएमए (इक्मा) अटो शो २०२४ मा पहिलो पटक हिरो मोटोकर्पले देखाएको एक्सपल्स-२१० भारतमा सार्वजनिक गर्ने पक्का भएको हो ।
भारत मोविलिटी एक्स्पोपछि बजारमा आउने एक्सपल्स-२१० डिजाइन र लुक्सको कारण चर्चा पाउन थालिसकेको मोडल हो । कम्पनीले एक्सपल्स-२०० फोर भीकै प्लेटफर्ममा एक्सपल्स-२१० तयार पारेको छ ।
प्लेटफर्म एउटै भएपनि बनोटमा धेरै परिर्वतनहरू पाउन सकिन्छ । एक्सपल्स-२१० पहिलेको भन्दा बढी अफरोडमैत्री हुनेछ । यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलका फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क देख्न सकिन्छ । साथै, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ । यो मोटरसाइकलमा स्वीचएबल डबल च्यानल एबीएस, ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्माट कनेक्ट फिचर उपलब्ध छ ।
यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसको पावर भने करिज्माकोभन्दा केही कम हो । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।

