नेपालमा परिक्षण भइरहेको ‘एक्स्ट्रीम १६० आर’को भारतमा धमाकेदार बिक्री

काठमाडौं । हिरो मोटो कर्पले नेपालमा परिक्षण गरिरहेको एक्स्ट्रीम १६० आर सेप्टेम्बरमा १३ हजार यूनिट बिक्री भएको रिपोर्ट सार्वजनिक भएको छ । नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको यो मोटरसाइकलको भारतमा भएको उत्कृष्ट बिक्रीले अहिले चर्चा पाइरहेको छ ।

हिरो मोटोकर्पको नेपालको लागि आधिकारीक वितरक एनजीएमले यसलाई केही समयपछि नेपालमा सार्वजनिक गर्ने जनाएको छ । नेपालमा यसको बिक्री सुरु हुनुअघि विभिन्न चरणको सडक परिक्षण भइरहेको छ ।

भारतमा भएको बिक्रीले नेपालमा पनि यो मोटरसाइकलले निकै राम्रो बजार पाउने अनुमान गर्न सकिन्छ । कम्पनीले एक्सपल्सपछि एक्स्ट्रीम १६० आरले पनि निकै राम्रो व्यापार गर्ने अनुमान गरेको छ ।

हिरो मोटरसाइकलले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वाधिक छिटो कुद्ने मोटरसाइकल भएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।

कम्पनीले एक्स्ट्रीम २०० मा टेललाईट मात्र एलइडी प्रयोग गरेको थियो भने सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरेको छ ।

हिरो एक्स्ट्रीम आरले बजारमा टीभीएस १६० फोर भी, सुजुकी जिक्सर र यामाहा एफजेड भि थ्री जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।


Back_to_top