फक्सवागनको सबैभन्दा सस्तो मूल्यको कार ‘अप’ !

काठमाडौं । फक्सवागन विश्व प्रसिद्ध कार उत्पादक कम्पनी हो । कम्पनीले अहिले नेपालमा बिक्री गरिरहेको इन्ट्री लेवल मोडल पोलो हो । सन् २०२१ मा कम्पनीले पोलोभन्दा कम मूल्यको इन्ट्री लेवल ह्याचव्याक कार ल्याउने संभावना रहेको छ ।

सन् २०२० बाट यूरोपमा बिक्री सुरु भएको नयाँ ‘फक्सवागन अप’ नेपाल आउने हो भने यसको मूल्य पोलोभन्दा कम हुने छ । कम्पनीले यसको उत्पादन भारतमा सुरु गरेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् ।

भारतमा ५ लाख भारुभन्दा कम मूल्यमा बजारमा आउने अनुमान गरिएको यो कार नेपाल आउने हो भने करिब २२ लाखदेखि २५ लाख रुपैयाँ मूल्य कायम हुने अनुमान गर्न सकिन्छ ।

यूरोपमा बिक्री सुरु भएको फक्सवागन अपमा ९९९ सीसी क्षमताको इनलाइन थ्रि सिलिण्डर इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले अधिकतम ६२०० आरपीएममा ७५ पीएस पावर र ४३०० आरपीएममा ९५ एनएम टर्क प्रदान गर्नेछ ।

यसको लम्बाई ३५४० एमएम रहेको छ । जुन पोलोभन्दा छोटो हो । यसको चौडाई १६४१ एमएम र उचाई १४७८ एमएम रहेको छ । यसमा २४२० एमएमको ह्वीलवेस दिइएको छ ।

यूरोपमा बिक्री भइरहेको अपमा ४ जनाले मात्रै यात्रा गर्न सक्ने छन् भने ३ वटा मात्रै ढोका रहेका छन् । यद्यपी भारतमा बन्ने अपमा ५ सीट क्षमता र ५ ढोका रहने अनुमान गरिएको छ ।

सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, अगाडि भ्यान्टिलेटेड डिस्क र पछाडि ड्रम ब्रेक यसमा रहने छ । यसले माइलेज पनि प्रतिलिटर २५ किलोमिटर प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।

पोलोमा नयाँ टिएसआई इन्जिन दिएको फक्सवागनले त्योभन्दा सस्तो मूल्यमा बिक्री गर्न यसअघि पोलोमा रहेको इन्जिन दिएर अप भारतमा ल्याउन लागेको हो । कम्पनीले यसलाई २०२१ मा नै भारतमा बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।


Back_to_top