हाइवे अपडेट : देशभरका कुन सडक बन्द, कुन खुला ?

काठमाडौं । बाढी पहिरोका कारण देशभर अवरुद्ध २ वटा बाहेक अरु सबै सडकमा यातायात सुचारु भएको छ ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहान ८ बजेसम्म देशभरका राजमार्गमध्ये कोशी राजमार्ग र चीन जाने रसुवागढी पुल बाहेक सबै सडक संचालनमा आएका हुन् ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, रसुवाको रसुवागढीस्थित ल्हेन्दे खोलामा नेपाल चीन जोड्ने पुल बगाउँदा दुई देश बीचको यातायात सेवा ठप्प भएको हो । गत असार २४ गतेदेखि बन्द यो पुल अझै संचालनमा आउन सकेको छैन।

उक्त स्थानमा अहिले धमाधम बेलीब्रिज निर्माण भइरहेको छ । चिनियाँ भू-भागतर्फ पिलरको काम सकिएको छ भने अहिले नेपालतर्फको भागमा पिलरको काम भइरहेको छ । उक्त पुल अब दुई साता भित्रै संचालनमा आउने बताइएको छ ।

यी बाहेकका अरु सबै सडकमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।


Back_to_top