काठमाडौं । बाढी पहिरोका कारण देशभरका ५ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।
नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान १० बजेसम्म ५ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ६ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा बालुवाखानीमा पहिरो खस्दा पासाङ ल्हामु सडक र नेपाल चीन जोड्ने पुल, रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट-डोल्पा सडक र रोल्पाको त्रिवेणीमा पहिरो आउँदा घोराही थवाङ सहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, कालिगण्डकी करिडोरको बागलुङ र नवलपरासी पूर्व तथा सहिद राजमार्ग भने एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।


