दुई प्रिमियम एड्भेन्चर बाइकमा तपाईको रोजाई कुन ? यस्ता छन् भिन्नता

काठमाडौं । एड्भेन्चर मनपर्नेहरुको लागि नेपाल सधैँ अब्बल गन्तब्य हो । यहाँका सडकदेखि पहाडी र हिमाली क्षेत्र एड्भेन्चर टुरिजमको लागि प्रख्यात छन् । त्यसैले यहाँ एड्भेन्चर सेग्मेन्टका मोटरसाइकलको बिक्री बढ्दै गइरहेको छ ।

केहि वर्ष अघिसम्म सस्तो मूल्यका एड्भेन्चर मोटरसाइकल मात्रै फाट्टफुट्ट बिक्री हुने हाम्रो बजारमा अब भने ठूला र प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा प्रतिस्पर्धा नै सुरु भएको छ ।

माग बढेसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरुले एड्भेन्चर सेग्मेन्टमा प्रिमियम मोडल ल्याउन थालेका छन् । अघिल्लो साता ४५० सीसी क्षमताको इन्जिन भएका दुई मोटरसाइकल नेपाली बजारमा आए । जसमा रोयल इनफिल्ड हिमालयन ४५० र सीएफमोटो एमटी ४५० छन् ।

फिचर लगभग उस्तै रहेका यी दुई मोटरसाइकलको इन्जिन, पावर पर्फमेन्स र मूल्यमा भने फरक छ । अहिले यी दुबै मोडलले बजारमा चर्चा पनि पाइरहेका छन् । यी दुई मोडल बीच रहेका भिन्नता यहाँ प्रस्तुत गरिएको छ ।

इन्जिन पावर र पर्फमेन्स

रोलय इनफिल्ड हिमालयन ४५० नेपालमा नै एसेम्बलिङ भएको मोडल हो । यसमा ४५२ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ, एफआई, शेर्पा इन्जिन छ । कम्पनीले पहिलो पटक रोयल इनफिल्डको हिमालयन मोडलमा लिक्विड कुल्ड इन्जिन प्रयोग गरेको हो ।
कम्पनीले शेर्पा नाम दिएर ल्याएको यस इन्जिनले अधिकतम ४०.२ पीएस पावर तथा ४० एनएमको टर्क जेनेरेट गर्छ । हिमालयन ४५० को टप स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

सीएफ मोटोले केही महिना अगाडि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको एमटी ४५० एड्भेन्चर मोटरसाइकल नेपाल आएको हो । यसमा अत्याधुनिक फिचर र टेक्नोलोजी मिश्रण भएको कम्पनीको दावी छ ।

एमटी ४५० एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड, एट भल्बको पावरफुल एफआई इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम ४३.६ हर्षपावर तथा ४४ एनएमको टर्क जेनेरेट गर्छ । एमटी ४५० को टप स्पीड १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यी दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

माइलेज

दुबै मोटरसाइकलमा १७ लिटरको फ्युल ट्याकं रहेको छ । यी दुई मोडलले एक लिटर पेट्रोलबाट २५ देखि ३० किलोमिटरसम्म माइलेज दिने कम्पनीले दावी गरेका छन् ।

फिचर

फिचर लोडेड हिमालयन ४५० मोटरसाइकलमा पुरा एलइडी लाइट, पुरै डिजिटक टीएफटी राउन्ड कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न वाइ टर्न नेभिगेशन, मल्टिपल राइड मोड उपलब्ध छ । साथै, स्वीचएवल डबल च्यानल एबीएस, ट्युब टायर, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच यूएसडी र मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट, वीन्डस्क्रीन, फ्रन्ट फेन्डर र रेडियटर कभर छन् ।

 

त्यसैगरी, सीएफ मोटो एमटी ४५० मा पनि पुरा एलइडी लाइट, ट्रयाक्सन कन्ट्रोल, कनेक्टिभिटी सिस्टम, नेभिगेसन, नेक्स्ट जेन डिजिटल टिएफटी डिस्प्ले, स्लीपर क्लच, डबल च्यानल स्विचेवल एबीएस, स्पोक ह्वील दिइएको छ । साथै, यूएसबी पोर्ट, कायाबा एडजष्टेवल यूएसडी फर्क र मोनोसक सस्पेन्सन, एड्जष्टेवल सिट जस्ता फिचर पाउन सकिन्छ ।

मूल्य

हिमालयन ४५० नेपाली बजारमा चार कलर अप्सनमा उपलब्ध छ । कम्पनीले यसको काजा ब्राउनको ९ लाख ८९ हजार ५०० रुपैयाँ, स्लेट हिमालयन सल्ट र स्लेट पप्पि ब्लूको ९ लाख ९९ हजार ५०० रुपैयाँ, कमेट ह्वाइटको १० लाख १९ हजार ५०० रुपैयाँ र ह्यान्ले ब्ल्याकको मूल्य १० लाख ३९ हजार ५०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

एमटी ४५० मोटरसाइकलमा भने कुनै भेरियन्ट वा कलर अप्सन अनुसार मूल्य राखिएको छैन । कम्पनीले यसको मूल्य १२ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो ।


Back_to_top