साना ४ इलेक्ट्रीक ट्रकमा बढ्दै प्रतिस्पर्धा, यस्तो छ फरक

काठमाडौं । लाइट कमर्सियल सेग्मेन्टमा पनि विद्युतीय साधनको प्रयोग तिब्रगतिमा बढ्न थालेसँगै कम्पनीहरुले माइक्रो भ्यानसँगै कार्गो ट्रकहरु पनि ल्याउन थालेका छन् । संचालन खर्च कम र लोड पनि राम्रो परिणाममा बोक्न सक्ने भएको कारण स्वरोजगार बन्न चाहने चालकहरुको रोजाइमा यस्ता ट्रक पर्न थालेका हुन् ।

अहिले बजारमा टाटा, फोटन, एसआरएम र कामा ब्राण्डका इलेक्ट्रीक ट्रकहरु उपलब्ध छन् । टाटाको इलेक्ट्रीक ट्रक केहि सानो साइजमा छ । बाँकी ४ वटा ट्रकहरु १० फिट कार्गो-बे भएका र १.५ टन भारबहन क्षमता भएका छन् ।

फोटन टीएम–१

एमएडब्लु बृद्धिले गत वर्षदेखि बिक्री थालेको फोटनको टिएम-१ मोडलमा ३८.६४ किलोवाट आवरको सीएटीएल लिथियम आयोन फस्फेट ब्याट्री प्याक पाउन सकिन्छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर २८० किलोमिटरसम्म चलाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ ।

टिएम-१ कार्गो ट्रकमा ६० किलोवाट क्षमताको मोटर छ, जसले २२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो ईभीमा युरोपियन स्ट्याण्डर्डको सीसीएस-२ चार्जिङ पोर्ट दिइएको छ । डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्ने यो ट्रकको अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक छ ।

एबीएस, इबीडी, इलेक्ट्रीक पावर स्टेरिङ, मल्टीमिडीया सिस्टम, एयरकण्डिसन रिभर्स क्यामरा, पावर विण्डो जस्ता फिचर टिएम-१ मा पाउन सकिन्छ ।

यसको ४८८० एमएम लम्बाई, १६८० एमएम चौडाई तथा १९४५ एमएम उचाई रहेको छ । १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो ट्रकमा ३०५० एमएम लम्बाई तथा १५६० एमएम चौडाई भएको कार्गो बक्स छ । फोटनको टिएम-१ ले १५०० केजीसम्मको कार्गो बोक्ने क्षमता रहेको छ ।

कम्पनीले यसमा रहेको ब्याट्रीमा ५ वर्षको वारेन्टी दिएको छ । यसको मूल्य ३३ लाख ९९ हजार तोकिएको छ ।

कामा इडब्लु–१

मेगा बिजनेश ग्रुपले नेपाली बजारमा भित्र्याएको कामा ब्राण्डको इडब्लु–१ मोडलको इलेक्ट्रीक पिकअप ट्रक धेरैले चर्चा गर्दै आएका मोडल हो । यो ईभीमा ३८.६४ किलोवाट आवरको गोसन हाईटेक कम्पनीको ब्याट्री प्याक छ । यो व्याट्रीले २६० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

स्लो तथा फास्ट चार्जिङका लागि जीबीटी चार्जिङ पोर्ट रहेको कामाको ट्रकमा अगाडि र पछाडि दुबै चक्कामा ड्रम ब्रेक पाउन सकिन्छ । यो ईभीमा एमपीथ्री प्लेयर, पावर स्टेरिङ, एबीएस, एयर कण्डिसन, रिजेनेरेटिभ ब्रेकिङ जस्ता फिचर छन् ।

कामाको इडब्लु-१ को लम्बाई ४९९० एमएम, चौडाई १६९० एमएम, उचाई २०५० एमएम छ । यसमा ३०५० एमएम लम्बाई तथा १६०० एमएम चौडाई भएको कार्गोबे छ । यो ईभीले पनि १५०० केजीसम्मको कार्गो बोक्न सक्छ ।

कम्पनीले यसमा १४ इन्चको ह्वील दिएको छ । यो पीकअप ट्रकको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ । कम्पनीले यो ईभीको व्याट्रीमा ५ वर्ष वा १ लाख किलोमिटरसम्म वारेन्टी दिएको छ । यसको मूल्य २५ लाख ९० हजार तोकिएको छ ।

एसआरएम टीथ्री

पूजा कन्स्ट्रक्सनले एसआरएम ब्राण्डको टीथ्री मोडलको इलेक्ट्रीक कार्गो ट्रक नेपाल ल्याएको छ । यो ईभीमा ४१.८६ किलोवाट अवारको ब्याट्री प्याक उपलब्ध छ । यसमा पनि युरोपियन स्ट्याण्डर्डको सीसीएस–२ चार्जिङ पोर्ट छ । डीसी फास्ट चार्जर सपोर्ट गर्ने यो ईभीलाई ४५ मिनेटमा २० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

एक पटकको फुल चार्जमा २६० किलोमिटर रेन्ज दिने दावी गरिएको पीकअप ट्रकमा ६० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले २२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

अगाडि डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध ट्रकमा १२ इन्चको ह्वील तथा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । एसआरएम टीथ्री इलेक्ट्रीक ट्रकमा इलेक्ट्रीक पावर स्टेरिङ, एयर कण्डिसन, रिभर्स पार्किङ क्यामरा, मल्टीमिडिया जस्ता फिचर पाउन सकिन्छ ।

एसआरएम टीथ्रीको लम्बाई ५१९० एमएम, चौडाई १७७० एमएम, उचाई १९९५ एमएम रहेको छ । यसमा ३१०० एमएम लम्बाई तथा १६८० एमएम चौडाई भएको कार्गोबे रहेको छ । यसको पेलोड १६२५ केजीसम्म छ ।

कम्पनीले यो ईभीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । यसको मूल्य भने ३६ लाख रुपैयाँ तोकेको छ ।

कामा ईभी–२

त्रिवेणी मोटोकर्पले कामाको ईभी–२ मोडलको पिकअप ट्रक नेपाल ल्याएको छ । यसमा सीएटीएलको ४१.८६ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले २४० किलोमिटर रेन्ज दिने कम्पनीले दावी छ ।

जीबीटी चार्जिङ पोर्ट रहेको यो ईभीले स्लो तथा फास्ट चार्जिङ सपोर्ट गर्छ । डीसी फास्ट चार्जरले ४५ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । ७० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यो ईभीको फ्रन्ट र रियर दुबैमा हाइड्रोलिक ड्रम ब्रेक छ ।

यसमा १४ इन्चको ह्वील तथा १८० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । पावरस्टेरिङ, एयरकण्डिसन, पावर विण्डो, एबीएस, इबीडी, अप्सनल डिउल एयरव्याग, सेन्टर स्कृन, रिभर्स पार्किङ सेन्सर र क्यामरा जस्ता फिचर छन् ।

सेग्मेन्टमै सबैभन्दा ठूलो साइजको यो ट्रकको लम्बाई ५५९५ एमएम, चौडाई १७९० एमएम र २०७० एमएमको उचाई रहेको छ । यसमा ३३०० एमएम लम्बाई तथा १६८० एमएम चौडाई भएको कार्गोबे छ । यसले पनि १६०० केजीसम्मको कार्गो ओसार पसार गर्न सक्छ ।

यसको मूल्य भने बाहिर आएको छैन ।


Back_to_top