काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदका लागि दिने हार्यर पर्चेज कर्जा लगानी बढाएका छन् ।
नेपाल राष्ट्र बैंकको कडाइ र आर्थिक शिथिलताका कारण विगत ३ वर्षदेखि ओरालो लागेको हायर पर्चेज कर्जा लगानी चालु आवमा भने ४.७ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिना (साउन-फागुनमा) मात्रै ५ अर्ब ८५ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेकोमा फागुन मसान्त आइपुग्दा ४.७ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ पुगेको हो ।
पछिल्लो समय हायर पर्चेज कर्जामा राष्ट्र बैंकको लचकता, सस्तो ब्याजदर, सवारीसाधन किन्नेको संख्या पनि बढेकाले यस्तो कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले विगतमा १५० प्रतिशत पुर्याइएको सवारी कर्जाको जोखिमभार हाल १०० प्रतिशतमा झारेको छ । बैंकको बेसरेट ३ वर्ष यताकै सस्तो अर्थात् ७ प्रतिशतभन्दा पनि तल छ । त्यस्तै, पछिल्लो समय आर्थिक क्रियाकलापमा केही सुधार आउँदा सवारी साधन किन्नेको संख्या पनि बढेको छ ।
चालु आवमा कमर्शियल सवारीको बिक्रीमा खासै सुधार नदेखिए पनि प्यासेजर भेहिकल बिक्रीमा भने उल्लेख्य सुधार आएको छ । राष्ट्र बैंककै तथ्यांक अनुसार चालु आवमा व्यक्तिगत प्रयोजनका लागि सवारी किन्न लिइने कर्जाको वृद्धिदर १४.८ प्रतिशतले बढेको छ । ८ महिनामा प्यासेन्जर भेहिकल खरिदका लागि मात्रै ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लिएका छन् । चालु आवको फागुनसम्म १० हजार युनिट बढी कार आयात भएको भन्सार विभागको तथ्यांक छ ।
पछिल्लो समय सवारी बिक्रेताहरूले बैंकहरूसँग सहकार्य गर्दै सस्तो ब्याजदरको कर्जा स्कीम समेत ल्याइरहेका छन् । यसले पनि हायर पर्चेज कर्जाको माग बढाउन सहयोग गरेको छ ।
चालु आवमा पर्सनल भेहिकल खरिदका लागि झण्डै साढे ५ अर्ब कर्जा लगानी भए पनि कर्मशियल भेहिकल खरिदमा भने न्यून रहेको छ । ८ महिनामा कमर्शियल भेहिलक खरिदका लागि ३८ करोड ९३ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।
यद्यपि, बैंकहरूको कुल कर्जा लगानीमा पर्सनलको तुलनामा कमर्शियल भेहिकलमा दोब्बर बढी छ । फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूले कमर्शियल भेहिकलमा कुल ८७ अर्ब ६५ करोड र पर्सनल भेहिकलमा ४२ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गाडी किन्न कुन बैंकले कति दिए लगानी ?
चालु आवको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सवारी खरिदका लागि कुल ५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरूले मात्रै ६ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीको भने यस्तो कर्जा लगानी घटेको छ ।
चालु आवमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै २ अर्ब ४६ करोड रुपैयाँ हायर पर्चेज कर्जा दिएको छ । यस बैंकको ब्याजदर सस्तो भएकाले ऋण लिनेहरू यस बैंकको गएको देखिन्छ ।
त्यस्तै, चालु आवमा ग्लोबल आइएमईले १ अर्ब ८९ करोड, सानिमाले १ अर्ब १४ करोड रुपैयाँ, एभरेष्टले १ अर्ब ९ करोड, एनएमबीले ८४ करोड, नबिलले ८१ करोड, एसबीआइले ७३ करोड, नेपाल र कृषि विकासले समान ५८ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेको छ ।
चालु आवमा ८ बैंकले भने हायर पर्चेज कर्जा लगानी घटाएका थिए । जसमा कुमारी र एनआइसीले समान १/१ अर्ब बढी हायर पर्चेज कर्जा लगानी घटाएका छन् । त्यस्तै, चार्टर्डले ६६ करोड, हिमालयनले ६२ करोड, माछापुच्छ्रेके २६, लक्ष्मीको २४ करोड, सिद्धार्थको २ करोड र इन्भेष्टमेन्ट मेगाको डेढ अर्ब घटाएको छ ।
हायर पर्चेजमा ग्लोबल र नबिलको धेरै लगानी
हायर पर्चेज कर्जामा ग्लोबल आइएमई र नबिल बैंकको सबैभन्दा धेरै लगानी रहेको छ । जसमा ग्लोबलले सर्वाधिक १५ अर्ब ८६ करोड रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, नबिलले ११ अर्ब ६१ करोड, राष्ट्रिय वाणिज्य बैंकले साढे ८ अर्ब, सानिमाले ६ अर्ब ७० करोड, एनएमबीले ६ अर्ब ६९ करोड, हिमालयनले ६ अर्ब ३८ करोड, प्रभुले ५ अर्ब ८९ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् ।
वाणिज्य बैंक मध्ये विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डले सबैभन्दा कम १ अर्ब ८४ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेको छ । यस बैंकले हाल भने अटो कर्जा लगानी गर्दैन ।
माछापुच्छ्रे, लक्ष्मी, नेपाल एनआइसी एशिया र नेपाल एसबीआइ बैंकले पनि तुलनात्मक रुपमा सवारी किन्न थोरै ऋण दिएका छन् । यी बैंकको हायर पर्चेज कर्जा लगानी ३ अर्ब रुपैयाँ भन्दा कम छ ।