होन्डाले इटलीको मिलनमा चलिरहेको EICMA मोटर शोमा नयाँ मोडलको बाइक सार्वजनिक भएको छ । कम्पनीले ‘होन्डा सीबी १२५ एम’ र ‘सीबी १२५ एक्स’को कन्सेप्टलाई एकै साथ शोकेस गरेको हो ।
कम्पनीले यी दुवै मोडलका बाइकलाई युरोपियन बजारमा २०१९ मा बिक्री वितरण सुरुगर्ने जनाएको छ । युरोपमा यी बाइक कम्पनीको इन्ट्री लेवलका हुने छन् ।
सीबी १२५ एम यसअघिको सीबी १२५ आरकै प्लेटफर्ममा बनाइएको हो । तर कम्पनीले यसको डिजाइनमा पुरै परिर्वतन गरेको छ । यो बाइकको डिजाइन होन्डाको रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरले रोममा विकास गरेको हो । यस मोडलको फ्रन्टमा अपसाइड डाउन फर्क राखिएको छ भने रियर साइडमा मोना–सस्पेन्सन राखिएको छ ।
सीबी १२५ एममा सानो एलइडी हेडल्याम्प राखिएको छ । यस्तै, बाइकमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । स्पोटी लुक्समा ल्याइएको बाइकको फ्यूल ट्यांकी निकै मस्कुलर देखिएको छ । एकजनाको लागिमात्रै सीट दिइएको बाइकको रियरमा सानो एलइडी टेलल्याप जडान गरिएको छ ।
सीबी १२५ एममा १२४.७ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिइएको छ । कम्पनीले यो इन्जिन सीबी १२५ आरमा पनि प्रयोग गरेको थियो । यसमा लगाइएको इन्जिनले १३.३ पीएस पावर र १० एनएम टर्क उत्पादन गर्छ ।


