काठमाडौं । एयरबस फेमलीको कान्छो व्यवसायिक एयरक्राफ्ट-ए२२० ले बिश्व भ्रमणको दौरान नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल–आएल मार्केट (४ मिटरभन्दा कम चौडार्इ भएको) समुहमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने र यात्रुलार्इ थप सुविधा प्रदान गर्ने अनुमान गरिएको ए२२०-३०० एयर बाल्टिकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा कार्तिक २५ र २६ गते प्रदर्शित गरिएको थियो ।
जम्मा १४५ जना यात्रु बोक्ने क्षमता राख्ने यो जहाज चीन, नेपाल, टर्की र थाइल्यान्ड गरि ४ वटा देशको डेमो भ्रमणमा रहेको छ । यो जहाजको परफर्मेन्स उत्कृष्ट रहनुको साथै एकदमै आरामदायी रहेको बताइएको छ । यस बाहेक काठमाडौं जस्ता उचाईमा रहेका हवाई अड्डाका लागि पनि यो जहाज उपयुक्त रहेको छ ।
१०० देखि १५० सिट क्षमताको बजारका लागि एयरबसद्वारा निर्मित एक मात्र विमान ए२२० ले उत्कृष्ट इन्धन क्षमता प्रदान गर्छ । यो विमानको निर्माण स्टेट अफ दि आर्ट एरोडायनामिक टेक्नलोजीमा हुनुका साथै एड्भान्स कम्पोजीट मेटेरियलको प्रयोग गरिएको छ ।
यसमा दुर्इवटा प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको पीडब्लु १५००जी इन्जिनको प्रयोग गरिएको छ, जसले अन्य साधाराण विमानको तुलनामा २० प्रतिशत सम्म इन्धनको बचत गराउनेछ । यो विमानको अहिलेनै ४०० भन्दा धेरै अर्डर भइसकेको छ । अमेरिकाको डेल्टा एयरले मात्र यो मोडलको जहाज ७५ वटा वुकिङ गरेको छ ।
यस्तो छ ए२२० को इतिहास
क्यानडाको विमान कम्पनी बम्बाडियरको सीसीरीज प्रोजेक्ट अन्तर्गत विकास भएको सीएस १०० र सीएस ३०० विमानहरू बम्बाडियरले धेरै वर्षको प्रयासपछि तयार गरेको थियो । क्यानडियन सरकारको लगानीमा चलिरहेको यो प्रोजेक्ट पछि अमेरिकी बजारमा प्रवेसका लागि निषेधगर्न बोइङले मुद्दा दर्ता गराएको थियो ।
अमेरिकी बजारमा प्रवेसका लागि यो प्रोग्रामको ५०.१ प्रतिशत हिस्सा बम्बाडियरले एयरबसलार्इ जीम्मा लगाएको हो । एयरबसले टेकओभर गर्नु अगाडिनै केहि जहाजहरू सुर्इस एयर र एयर बाल्टिकले बम्बाडियरकै सीसीरीजको रूपमा उडान गरिसकेका छन् । हालै एयरबसले लिएपछि यस जहाजको नाम एयरबसकै लार्इनअप अन्तर्गत ए २२० राखिएको हो ।
बम्बाडियरको सिसीरीज जहाज सन् २०१६ मै नेपालको बीबी एयरवेजले बुकिङ गरेको थियो । तर, पछि एसियन रिजनमा उक्त जहाज बिक्री नगर्ने निर्णयसँगै सो जहाज उडाउने बीबी एयरवेजको योजना तुहिएको थियो । नेपाली बजारलार्इ लक्षित गरेर केही समय अगाडि ब्रजिलीयन कम्पनी इम्ब्रेरियरले पनि आफ्रनो नयाँ मोडलको उस्तै सीट क्षमताको जहाजको नेपालमा प्रदर्शन गरेको थियो ।

