आगामी बिहिवार अर्थात् नोभेम्बर १५ मा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको जावा ३०० क्लासिकको टिजर सार्वजनिक भएको छ । कम्पनीले २ नोभेम्बरमा बाइकको टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको भिडियोमा एक युवाले बाइक राइड गरिरहेको देखाइएको छ । कम्पनीले १५ नोभेम्बरमा सार्वजनिक गर्न लागेका चार बाइकहरुको एउटै टिजर भिडियो सार्वजनिक गरेको हो ।
कम्पनीले जावा क्लासिक, स्क्राम्बल, बबर र क्याफे रेसर गरी चार बाइक सार्वजनिक गर्ने तयारी गरेको छ ।
रेट्रो स्टाइलिङ रहेको यो बाइकले बजारमा रोयल इन्फिल्ड ३५० सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । बाइकमा रोयल इन्फिल्डको ६५० सीसीको बाइकमा जस्तै राउण्ड हेडल्याम्प दिइएको छ ।
कर्वी ट्यांक, लामो तथा फराकिलो सिट र स्पोक ह्विल रहेको जावा बाइकमा राउण्ड मिरर, राउण्ड इन्डिकेटर र टेलेस्कोपिक फोर्कसमेत उपलब्ध रहेको छ ।
ट्विन एग्जस्ट मफलर्सको रेट्रो लुक भएको बाइकमा एबीएसलगायतका सेफ्टी फिचरहरु दिइएको अनुमान गरिएको छ ।
२९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको बाइकले २७ एचपीको पावर र २८ एनएम टर्क प्रदान गर्छ । साथै यसमा ६ स्पिड गियरबक्स जडान गरिएको छ ।
भारतीय चर्चित मोटर उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्रले खरिद गरेको जावा ब्रान्ड कम्पनीको पुरानो बाइक मोजोको साथमा बिक्री गर्ने योजना कम्पनीले अगाडि ल्याएको छ ।


