काठमाडौं । होन्डाले २०१९ इक्मा अटो शोमा प्रर्दशन गरेको एडभेञ्चर टुरर मोटरसाइकल निर्माण गर्ने संकेत गरेको छ । कम्पनीले ‘सिबी ४ एक्स’को पेटेन्ट दर्ता गराएसँगै यो मोटरसाइकल उत्पादनमा जाने भएको हो ।
उसो त होन्डा सबै किसिमको मोटरसाइकल उत्पादनमा निकै परिचित कम्पनी हो । होन्डाले १ लाख ५५ हजार रुपैयाँ देखि ७० लाखसम्मको मोटरसाइकल नेपाली बजारमा नै बिक्री गर्दै आएको छ । यस्तोमा होन्डाले ल्याउने एडभेञ्चर मोटरसाइकलको चर्चा हुनु स्वभाविक हो ।
सार्प डिजाइन एडभेञ्चर स्पोर्टस टुरर मोटरसाइकलमा ६५० सीसी ४ सिलिन्डर इन्जिन रहने अनुमान गरिएको छ । कम्पनीले भने इन्जिनको बारे आधिकारीक जानकारी बाहिर ल्याएको छैन । कम्पनीले यो मोटरसाइकलको पेटेन्ट युरोपियन यूनियन इन्टेलेक्चुएल प्रोपटी अफिसमा दर्ता गरेको हो ।

होन्डा सिबी ४ एक्समा कम्पनीले होन्डा सीबीआर ६५० आरको इन्जिन प्रयोग गर्ने अनुमान रहेको छ । अहिले नेपाली बजारमा होन्डाको सिबीआर ६५० नेपाली बजारमा पनि बिक्री हुँदै आएको छ ।
सिबी ४ एक्स एडभेञ्चर मोटरसाइकलमा १७ इन्चको ह्वील रहने छ । अन रोड तथा अफरोड दुबै सुहाउदो रहने यो मोटरसाइकल सुरुमा यूरोपियन बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले यो मोटरसाइकल कहिले सार्वजनिक गर्ने आधिकारीक जानकारी भने दिएको छैन ।
यो मोटरसाइकलको मूल्य सीबीआर ५६० आरको मूल्य बराबर हुने अनुमान रहेको छ । सीबीआर ६५० आर नेपाली बजारमा ३१ लाख ५० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।


