काठमाडौं । जापानी आटोमोबाइल कम्पनी होन्डा मोटर्सले पनि भारतीय बजारको लागि हाइब्रिड एसयूभी बनाउने भएको छ ।
होन्डाले विद्यमान आइसीई र ईभीको बीचको ग्याप परिपूर्ति गर्नका लागि ब्रिजको रूपमा हाइब्रिड पावरट्रेन ल्याउने भएको हो ।
भारतीय बजारमा यस अघि नै मारुती सुजुकी र टोयोटाले एसयूभीमा हाइब्रिड इन्जिको प्रयोग गरिसकेका छन् । हाइब्रिडको लाइनअपमा स्कोडा, फक्वागेन, हुन्डाई, किया, महिन्द्रा र रेनोले आफ्ना नयाँ मोडल लन्च गर्ने योजना सार्वजनिक गरिसकेका छन् ।
होन्डाले भारतमा हाइब्रिड भेहिकल उत्पादनका लागि पीएफ २ मोडुलर प्ल्याटफर्म प्रयोग गर्नेछ । यो प्ल्याटफर्मले हाइब्रिड, आइसीई र ईभी जस्ता सबै पावरट्रेनलाई सपोर्ट गर्छ । होन्डाले यो प्ल्याटफर्मको प्रयोग गरेर साना र मिडियम साइजका भेहिकल उत्पादन गर्ने योजना बनाएको छ । होन्डाले भारतमा उत्पादन गरेर ग्लोबल मोर्केटमा निर्यात गर्ने समेत योजना बनाएको छ ।
होन्डाले भारतीय बजारमा होन्डा सिटी मोडलको एकमात्र कार स्ट्रङ हाइब्रिड पावरट्रेनमा बिक्री गर्दै आएको छ । ई एचईभी एड्भान्स टेक्नलोजी प्रयोग भएको यो कारको माइलेज २७.२६ प्रतिलिटर रहेको छ । होन्डाको ई एचईभी टेक एड्भान्स र कम्प्लेक्स कम्पोनेन्ट भएकाले होन्डा सिटी ई एचईभीको मूल्य २०.८५ लाख भारतीय रुपैयाँ रहेको छ ।

तर होन्डाको पीएफ २ प्ल्याटफर्मको प्रयोगपछि भने मूल्य सस्तिने अनुमान गरिएको छ । होन्डाले यो प्ल्याटफर्ममा धेरै लोकलाइजेसन गर्ने योजना बनाएको छ । यो नयाँ प्ल्याटफर्मको एसयूभी १५ लाख हाराहारीमा लन्च हुने अनुमान रहेको छ ।
होन्डाको पीएफ२ प्ल्याटफर्ममा पहिलो भेहिकलको रूपमा थ्रीरो एसयूभी लन्च गर्नेछ । होन्डाको नयाँ प्ल्याटफर्ममा बनेको हाइब्रिड एसयूभी सन् २०२७ मा डेब्यू हुने अनुमान गरिएको छ ।
होन्डाले सबफोर मिटर सेग्मेन्टमा समेत नयाँ एसयूभी ल्याउने योजना बनाएको छ । कम्पनीले अहिले बिक्री भइरहेको एलिभेट एसयूभीको बेसमा ईभी समेत विकास गरिरहेको छ । यो ईभी आगामी वर्षको अन्त्यसम्ममा लन्च गर्ने कम्पनीको योजना छ ।

