काठमाडौं । बजार मागको कमीले पछिल्लो वर्ष होन्डाले उत्पादन बन्द गरेको मङ्की मोटरसाइकल पुनः उत्पादन सुरु गरेको छ । यसलाई कम्पनीले २०१७ टोकियो मोटर शोमा प्रदर्शन गरेको थियो ।
यस बाइकमा होन्डाले १२५ सीसी इन्जिन दिएको छ । जसले ७ हजार आरपीएममा ९.३ बीएचपी पावर र ५२५० आरपीएममा ११ एनएम टर्क दिन्छ । यसको डिजाइनिङ प्लेटफर्म पुरानो मोडलको नै रहेको छ । इन्जिन इन्जेक्शन टेक्नोलोजीबाट सुसज्जित यो बाइकमा ५.६ लिटरको ईन्धन ट्यांकी दिइएको छ । यो वाइकको तौल १०७ किलोग्राम रहेको छ ।
होन्डा मङ्कीको नयाँ स्वरुपमा, एबीएस (एन्टि लकिङ ब्रेकिङ सिस्टम) दिइएको छ । एलईडी हेडलाइट दिइएको यो मोटरसाईकल विश्व बजारमा तीन कलर भेरिएन्टमा उपलब्ध रहेको छ । होन्डाका अनुसार, होन्डा मङ्कीले ६७.१ किलोमिटर प्रति लिटर माइलेज दिनेछ ।
बिभिन्न अटो शोमा शोकेस गर्दै आएको होन्डाले यसको अन्तर्राष्ट्रिय बजारमा मूल्य ३ हजार ७ सय डलर राखेको छ । नेपाली बजारमा अहिलेसम्म नआएको यो मोडल नेपाल आएमा कति मूल्य पर्छ त्यो भने प्रतिक्षाको बिषय नै हो । नेपाली बजारमा होन्डाका उत्पादन स्याकार कम्पनीले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मङ्कीलाई नेपाली बजारमा ल्याउने वा नल्याउने अहिलेसम्म केही जनाएको छैन ।
फोटो: सौरभ ज्योतिको फेसबुकबाट (फोटोमा बाइक चढिरहेका सौरभ ज्योति हुन् । उनी होन्डाको नेपालको लागि आधिकारीक वितरक स्याकार कम्पनीका चेयरम्यानसमेत हुन् ।)


