काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘प्रोलग’ सार्वजनिक गरेको छ । कम्पनीले प्रोलग एसयूभी ‘जनरल मोटर्स’को प्लेटफर्ममा बनाएको हो ।
जापानी निर्माताले इलेक्ट्रीक एसयूभी प्रोलगलाई आफ्नो सेडान कार एकर्डको जस्तै नयाँ डिजाइन ल्याङ्वेज प्रयोग गरेको छ । कम्पनीले इलेक्ट्रीक एसयूभीलाई फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा ल्याउने छ ।
सन् २०२३ को अन्त्यबाट विश्वका धेरै देशमा यसको बुकिङ खुल्ला हुनेछ । यसको ग्राहकमा हस्तान्त्रण भने २०२४ को सुरुवातबाटै गर्ने कम्पनीले जनाएको छ ।
होन्डा प्रोलगको लम्बाई ४८७६ एमएम छ । यसमा ३०९३ एमएमको निकै लामो ह्वीलवेस दिइएको छ । लामो ह्वीलवेसकै कारण प्रोलग ‘स्टेसन वागन’ जस्तै देखिएको छ ।

बाहिरबाट झट्ट हेर्दा यसको डिजाइन ‘निट एण्ड सीम्पल’ देखिन्छ । २१ इन्चको अलोय ह्वील, एलइडी डिआरएल, एलइडी हेडलाइट र टेललाइट दिइएको छ ।
इन्टेरियरमा मेमोरी फङ्सनसहितको इलेक्ट्रीकल एड्जस्टेवल ड्राइभर सिट, भेन्टीलेटेड फ्रन्ट सिट, अटो डिमिङ आईआरभीएम, लेदर सिट, बोसको प्रिमियम १२ स्पीकर, हिटेड स्टेरिङ ह्वील, हेडअप डिस्प्ले, ११ इन्चको फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ११.३ इन्चको इन्फोटेन्मेन्ट स्कृन, पानारोमिक सनरुफ जस्ता फिचर रहेका छन् ।
एडास फिचर भएको होन्डा प्रोलगमा गियर सेलेक्टर भने स्टेरिङ कोलममै दिएको छ । क्लाइमेट कन्ट्रोलमा भने रोटरी डायल बटम छ । यो एसयूभीमा ७०७ लिटरको विशाल बुटस्पेश पाउन सकिन्छ ।
होन्डा प्रोलगमा ८५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४०० भोल्ट आर्किटेक्चरमा बनेको यो ईभीले १५५ किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ ।

फ्रन्ट ह्वील ड्राइभ अप्सनमा सेभ्रोले इक्वीनक्स ईभीमा जस्तै २१० हर्सपावर र ३२९ न्यूटन मिटर टर्क दिने मोटर रहेको छ । त्यस्तै अलह्वील ड्राइभ अप्सनमा भने २८८ हर्स पावर तथा ४५१ न्यूटन मिटर टर्क दिने मोटर रहेको छ ।
यसलाई सिंगल चार्जमा ४५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसको मूल्य अहिलेसम्म कम्पनीले बाहिर ल्याएको छैन । सम्भवत ४५ हजारदेखि ५० हजार अमेरिकी डलर मूल्य कायम गरेर यसको बिक्री सुरु हुनेछ ।

