काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी कियाले आफ्नो सफल मोडल सेल्टोसको साइजमा इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । कम्पनीले नयाँ ईभी-३ नाममा ल्याउने अनुमान गरिएको एसयूभीको सडक परिक्षण भइरहेको छ ।
किया मोटर्सले यसअघि नै सन् २०२७ सम्ममा १५ वटा ईभी मोडल बजारमा ल्याउने योजना सार्वजनिक गरेको थियो । कम्पनीले त्यसको लागि ईभी-१ देखि ईभी-९ सम्मको नामबाट विश्वका ठूला बजारमा ट्रेडमार्क दर्ता गराएको थियो ।
कियाले यसअघि ईभी-६, ईभी-९ र ईभी-५ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिसकेको छ । साथै, ईभी-४ र ईभी-३ पनि परिक्षण गरिरहेको छ ।
कम्पनीले अहिले परिक्षण सुरु गरेको ईभी-३ सबकम्प्याक क्रसओभर मोडल हो । कियाले ईभी-३मा पनि ईभी-९को जस्तै डिजाइन ल्याङ्वेज प्रयोग गरेको बाहिर आएको तस्बिरबाट प्रस्ट हुन्छ ।
ईभी-३ बक्सी डिजाइनमा तयार भएको देखिन्छ । साथै, एङ्गुलर बडी सर्फेस, सर्ट ओभरह्याङ तथा अपराईट ग्लास हाउस जस्तो हुनेछ । यसमा टी सेपको हेडलाईट, ग्लसीव्ल्याक इन्सर्ट सहितको स्पोर्टी फ्रन्ट बम्पर, फ्लोटिङ रुफ तथा व्ल्याक पेन्टेड ए तथा सी पिल्लर हुनेछ ।
हुन्डाई ग्रुपको ईजीएमपी प्लेटफर्म नयाँ ईभी आउँछ वा सन् २०२५ सम्ममा तयार हुने ‘नेक्स्ट जेनेरेशन ईएम प्लेटफर्म’मा बन्छ, त्यसको बारेमा केही जानकारी बाहिर आएको छैन । कियाको ईएफ आर्किटेक्चरमा सबै सेग्मेन्टको ईभी बन्न सक्ने र ड्राइभिङ रेन्ज पनि अहिलेको भन्दा ५० प्रतिशतसम्म सुधार हुने बताइएको छ ।
किया ईभी-३ ले लेभल ३ वा त्योभन्दा माथिको अटोनोमस प्रविधि सपोर्ट गर्नेछ । यसको लम्बाई ४ मिटरदेखि ४.३ मिटरको बीचमा हुने अनुमान गरिएको छ ।
कियाको नयाँ ईएम प्ल्याटफर्ममा बनेमा यो एसयूभीको रेन्ज ६ सय किलोमिटर भन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । यो ईभी सन् २०२४ को अन्त्य वा २०२५ को सुरुवातमा सार्वजनिक हुनेछ ।

