काठमाडौं । भारतमा मोटरसाइकल उत्पादनलाई तिब्रता दिइरहेको होन्डाले केही महिनाअघि १५० देखि २०० सीसी सेग्मेन्टमा सिरिज उत्पादन गर्न मिल्नेगरी नयाँ मोटरसाइकल ल्याउने योजना मुताविक बजारमा सर्वे गरिरहेको बताएको थियो । अब कम्पनीले नयाँ मोडल सिरिजमा नै उत्पादन गर्नेगरी काम गरिरहेको रिपोर्ट सार्वजनिक भएका छन् ।
अहिले भारतमा मोटरसाइकल सेग्मेन्टमा बजाजसँग पल्सर सिरिज, टीभीएससँग आरटीआर अपाचे सिरिज, यामाहासँग एफजेड सिरिज र सुजुकीसँग जिक्सर सिरिज उपलब्ध रहेपनि होन्डासँग कुनैपनि मोडलमा सिरिज रहेको छैन ।
त्यसैले कम्पनीले नयाँ सिरिजमा उत्पादन गर्नेगरी काम गरिरहेको खबरहरु बाहिर आएका हुन् । अहिले होन्डाले हर्नेट १६० र २.० उत्पादन गरिरहेको भएपनि त्यसलाई ग्राहकले सहज लिएको पाइदैन । यी दुबै मोडलको विक्री अन्य ब्राण्डको सिरिजको तुलनामा अत्यन्त कम छ । हर्नेटमा दुई मोडल बाहेक होन्डाले यूनिकर्न, एक्सब्लेड, सिडी १००, साइन जस्ता मोडलहरु विक्री गर्दै आएको छ ।
होन्डाले कुन नामबाट नयाँ मोटरसाइकल बजारमा ल्याउने छ भन्ने विषय अहिल्यै बाहिर आएको छैन । तर, चाँडै यसको घोषणा गर्ने तयारी भइरहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । होन्डाले १५० सीसीदेखि ३५० सीसीसम्मका मोटरसाइकल भारतमा ल्याउने छ । साथै, कम्पनीले चाँडै १२५ सीसी क्षमताको स्कुटर पनि बजारमा ल्याउने जनाएको छ ।


