माइक्रो एसयूभी खोजसँगै बजार हिस्सा बढाउँदै टाटा, प्रतिस्पर्धी माथि भारी पर्दै

काठमाडौं । नेपालमा टाटाको प्यासेन्जर कार सेग्मेन्ट निकै समयसम्म सुमो, सफारी र इन्डिकाले थेगेको थियो । समय क्रमसँगै टाटाले प्यासेन्जर कारमा नयाँ खोज र मिहिनेत गरेको कारण सन् २०१८ मा आएर नेक्सन सब फोर मिटर एसयूभी बजारमा आयो ।

नेक्सन नेपाल आएपनि सुमोको विक्री बन्द हुँदा टाटालाई प्यासेन्जर कार सेग्मेन्टको बजार हिस्सा बचाई राख्न मुस्किल परेको थियो । समयक्रमसँगै टाटासँग आधुनिक डिजाइनका कारहरुको लामो सूची तयार भएको छ ।

टाटा नेक्सन ईभी नेपाल आएसँगै टाटा अन्य प्रतिस्पर्धी माथि भारी पर्दै गएको छ । नेपालमा विद्युतीय गाडीको स्वीकारयता बढेसँगै नेक्सनले टाटाको बजार हिस्सामा नै ठूलो फरक पार्ने देखिएको छ । अहिले पनि कम्पनीले सप्लाई दिने हो भने टाटा नेक्सन ईभीले निकै बजार हिस्सा अगाडि लाने देखिन्छ ।

‘न्यू फरेभर’ स्लोगनसहित टाटाले नेपाली बजारमा अहिले नेक्सन ईभी बाहेक अल्ट्रोज, एचफाइभ, सफारी, टियागो, टिगोर जस्ता मोडल उपलब्ध रहेका छन् । त्यो भिडमा थपिने अर्को मोडल हो पन्च माइक्रो एसयूभी ।

टाटा पन्च भारतमा निकै ठूलो सफलता पाइरहेको मोडल हो । नेपाल ल्याउने तयार भएरपनि सरकारले आयात प्रतिबन्ध लगाएको कारण यो मोडल नेपाल आउन पाएको छैन ।

भारतमा टाटाले विक्री गर्दै आएको पन्च माइक्रो एसयूभी निकै आकर्षक डिजाइन, भरपुर सुरक्षा फिचर र आरामदायी फिचरको कारण यो मोडल अत्याधिक रुचाईएको छ । भारतमा अहिलेसम्म १ लाख १२ हजार यूनिटभन्दा धेरै पन्च ग्राहकमा हस्तान्त्रण भइसकेको छ ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर यसमा रहेको छ ।

रिभर्स क्यामेरा, व्याक सेन्सर, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील फिचरले पन्चलाई प्रिमियम बनाएको छ । यसले नेपाली बजारमा टाटालाई निकै ठूलो उथलपुथल बनाउने छ ।


Back_to_top