काठमाडौं । वर्षायाम लागेसँगै बाढिपहिरोको प्रकोप सुरू भएको छ । यसले हरेक वर्ष सडक र पुलमा ठूलो क्षति पुर्याउने गरेको छ । सडक र पुल बगाउँदा/भत्काउँदा कयौं दिनसम्म राजमार्गमा आवतजावत ठप्प समेत हुने गरेको छ ।
सरकारले बाढिपहिरो हटाइ जतिसक्दो चाँडो यातायात संचालन गर्न पूर्वतयारी गरेको हुन्छ । सडक बगाएको ठाउँमा वैकल्पिक ट्रयाक खोली तथा डाइभर्सन निर्माण गरी यातायात सुचारु गराउने गरिन्छ ।त्यसकालागि एक्स्काभेटर, डोजर, ब्याकहो लोडलर लगायत उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको हुन्छ । सडक विभागले यो वर्षाका लागि २७७ उपकरण स्ट्याण्ड बाइ राखेको छ ।
त्यस्तै, बाढीले पुल बगाएको ठाउँमा तत्कालै पक्की पुल बनाउन सम्भव हुँदैन । त्यस्तो ठाउँमा यातायात सुचारु गराउन अस्थायी रूपमा बेलिब्रिज जडान गरिन्छ । नेपालको कानुन अनुसार नयाँ खरिद प्रक्रियाबाट बेलिब्रिज जडान गर्न महिनौंसम्म लाग्छ । त्यसैले सडक विभागले आवश्यक पर्दा जडान गर्न केही थान बेलिब्रिज जगेडा (स्टक)मा राख्ने गरेको हुन्छ ।
विभागका अनुसार आवश्यक परेको बेला जुनसुकै ठाउँमा जडान गर्न सकिने खालका हाल १० वटा बेलिब्रिज स्टकमा छन् ।
सडक विभाग, पुल महाशाखाका कम्प्युटर अपरेटर विकास वादिकारले विभाग माताहतका विभिन्न सडक डिभिजन कार्यालयहरूमा १० वटा बेलिब्रिज स्टक रहेको जानकारी दिए । स्टकमा रहेका बेलिब्रिजमध्ये २ वटा मिटर लामो र ८ वटा ५० मिटरभन्दा छोटा रहेको उनले बताए ।
उनका अनुसार स्टक बेलिब्रिजमध्ये सडक डिभिजन हेटौंडा (मकवानपुर), दमौली (तनहुँ), शिवपुर (कपिलवस्तु) र नेपालगंज (बाँके)मा २/२ वटा रहेका छन् । यीमध्ये नेपालगंजमा एउटा ५० मिटर लामो छ भने अरू सबै ५० मिटरभन्दा छोटा छन् ।
त्यस्तै, सडक डिभिजन लहान (सिराहा) र जनकपुरमा १/१ वटा स्टक बेलिब्रिज छन् । जनकपुरमा रहेको बेलिब्रिज ५० मिटर लामो छ भने लहानमा भएको सोभन्दा छोटो छ । स्टक रहेका अधिकांश बेलिब्रिज भारत सरकारले उपलब्ध गराएका हुन् ।
‘हाल सडक विभाग मातहतका विभिन्न कार्यालयहरूमा १० वटा बेलिब्रिज स्टक छन् । तिनको लम्बाइ ५० मिटरसम्म छ । ती पुल चाहिएको ठाउँमा आवश्यकता अनुसार जडान गर्न सकिन्छ,’ उनले मेरोअटोसँग भने ।
बेलिब्रिज जडान गर्न ठ्याक्कै कति दिन लाग्छ भन्ने टुंगो नहुने महाशाखाले जनाएको छ । पुल जडान गर्नुपर्ने ठाउँको भौगोलिक अवस्था, पुरानो पुलको अवस्था, सामान ढुवानी गर्न लाग्ने समय, खरिद प्रक्रियामा लाग्ने समय लगायतमा निर्भर रहन्छ ।
बाढीले पुरानो पुलको सबै पिलरहरू भत्काएको छ र नयाँ पिलर निर्माण गरेर जडान गर्नुपर्ने हो भने कम्तीमा २/३ महिनासम्म लाग्न सक्ने प्राविधिकहरू बताउँछन् । पुरानै पुलको पिलर प्रयोग गर्न मिल्ने अवस्था छ भने २/३ सातासम्म लाग्न सक्ने उनीहरूको भनाइ छ । पिलर तयार र पुलका सबै सामान ढुवानी भइसकेपछि जडान गर्न मात्रै करिब १० देखि १५ दिन लाग्ने महाशाखाले बताएको छ ।
बेलिब्रिज स्टीलको पार्टपूर्जा प्रयोग गरेर बनाइएको (रेडिमेड) अस्थायी पुल हो । यसको पार्टपूर्जा सबै पहिल्यै निश्चित साइजमा तयार गरिएको हुन्छ । ढुवानी गरी जुनसुकै ठाउँमा पनि लैजान सकिन्छ । सम्बन्धित ठाउँमा लगेर नटबोल्ट कसेर जडान गरिन्छ ।


