काठमाडौं । न्यू इनर्जी भेहिकलको जननी मानिने चीनमा कति चार्जिङ स्टेशन छन् भन्ने धेरैको जिज्ञासा हुन सक्छ । चीनमा अहिलेसम्म १ करोड ६७ लाख युनिट चार्जर जडान भएका छन् ।
यी सबै चार्जरबाट मासिक ७.७१ अर्ब किलोवाट आवर बिजुली खपत हुने गरेको तथ्यांक बाहिर आएको छ । चीनमा चार्जिङ स्टेशनको विस्तार अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढीले वृद्धि भइरहेको छ । सन् २०२० को तुलनामा अहिले चार्जिङ पूर्वाधार १० गुणाले वृद्धि भएको हो ।
चीनको नेशनल इनर्जी एड्मिनेस्ट्रेसनका निर्देशक वाङ ह्वाङजीका अनुसार अगस्ट २६ तारिसम्मको रिपोर्ट अनुसार ५ विद्युतीय कारको लागि औषतमा दुई वटा चार्जिङ पूर्वाधार तयार भएको छ ।
सन् २०२५ को सात महिनामै ३८ लाख ७८ हजार युनिट चार्जर जडान भएका छन् । यस मध्ये पब्लिक चार्जर ६ लाख २३ हजार चार्जर जडान भएको छ । जबकि निजी कम्पनीहरूले ३२ लाख ५५ हजार चार्जिङ स्टेशन बनाएको हो ।

चीनमा पब्लिक चार्जिङ अपरेटरहरूको ठूलो संजाल छ । एउटै अपरेटरले ८ लाख ७ हजार गन चार्जर जडान गरेका छन् । चीनकै सबैभन्दा ठूलो चार्जर अपरेटर टेलडी हो । त्यस्तै स्टार चार्जर र वाइकेसी ठूला नेटवर्क संचालक हुन् ।
चीनमा ठूला चार्जिङ नेटवर्क संचालन गर्ने १५ कम्पनी छन् । यी सबैले बनाएका चार्जरमा जुनसुकै ब्राण्डका गाडी चार्ज गर्न सकिन्छ ।

