यसरी बनाउनुहोस् आफ्नो सवारी साधनको ब्लू बुकको क्यूआर कोड

काठमाडौं । बागमती प्रदेश सरकारले गत वैशख १९ गतेदेखि आफ्ना मातहतका यातायात कार्यालयहरूबाट ब्लू बुकको क्यूआर कोड दिन सुरू गरेको छ ।

प्रदेश सरकारले भौतिक रूपमा ब्लू बुक बोकर हिँड्दा हुने झन्झट हटाइ सवारी साधनको विवरण डिजिटालाइजेसन बनाउने उद्देश्यले क्यूआर कोड सेवा सुरू गरेको हो ।

यो प्रणालीबाट सवारी साधनको विवरण जाँच, ब्लू बुक नवीकरण जस्ता सेवा डिजिटल रूपमा लिन सकिने प्रदेश सरकारको भनाइ छ ।

ब्लू बुकको क्यूआर कोड लिएपछि अहिलेको जस्तो अनिवार्य बोकेर हिँड्नु पर्दैन । ट्राफिक चेकिङको बेला यातायात कार्यालयले दिएको क्यूआर कोड देखाए पुग्नेछ ।

यसरी लिनुहोस् ब्लूबुकको क्यूआर

  • सबैभन्दा पहिला बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको बेवसाइट खोल्नुहोस् । पेजमा देखिने हाम्रा सेवाहरू मध्ये ब्लुबुक क्यूआरमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि साइडमा एउटा बक्स देखा पर्छ । व्यक्तिगत प्रयोजनका लागि ‘व्यक्तिगत’ छान्नुहोस्। संस्थागत तथा कम्पनी प्रयोजनका लागि ‘संस्था/कम्पनी’ छान्नुहोस्। अनि आफ्नो मोबाइल नम्बर प्रयोग गरी लगइन गर्नुहोस्।
  • आफ्नो मोबाइल नम्बर हाल्नुहोस् । नम्बर हालेपछि ओटीपी नम्बर प्राप्त हुनेछ । उक्त नम्बर इन्ट्री गरी अघि बढ्नुहोस् ।
  • त्यसपछि आवेदन फारम खुल्छ । जहाँ सवारी साधनको नम्बर प्लेट विवरण भर्नुपर्नेछ । दर्ता भएको प्रदेश/अञ्चल, कार्यालय कोड, लट नम्बर, सवारी साधन नम्बर विवरण भर्नुहोस् ।
  • त्यसपछि नाम थर, जन्ममिति, आधिकारिक परिचयपत्र, राष्ट्रिय परिचयपत्र नम्बर जस्ता व्यक्तिगत विवरण भर्नुहोस् । व्यक्तिगत भरेपछि सवारी साधनको किसिम, निर्माता कम्पनी, मोडल, उत्पादन वर्ष, इन्जिन नम्बर, चेसिस नम्बर, सवारीको रङ, सिट संख्या लगायत विवरण पनि भर्नुहोस् ।
  • त्यसपछि सवारीधनीको फोटो र ब्लूबुकको पानाहरू, अन्तिम पटक कर तिरिएको रसिद स्क्यान गरेर अपलोड गर्नुहोस् । र, पेश गर्नुहोस् ।
  • सम्पूर्ण विवरण भरेपछि क्यूआर कोड लिनको लागि आफूलाई पायक पर्ने बागमती प्रदेशको यातायात व्यवस्था कार्यालयहरूमा आफ्नो अनुकूल मिति बुक गर्नुपर्नेछ ।
  • आफूले बुक गरेको मितिमा ब्लू बुकको सक्कल प्रति र नागरिकतासहित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
  • आवेदन पेश गरेपछि तपाईंको आवेदनलाई यातायात कार्यालयको कर्मचारीले प्रमाणित भएपछि तपाईंलाई क्यूआरसहितको ब्लूबुक एसएमएस मार्फत प्राप्त हुनेछ । साथै यातायात कार्यालय मार्फत आफ्नो कार्ड प्रिन्ट गरेर समेत लिन सकिनेछ ।

 


Back_to_top