काठमाडौं । विद्युतीय सवारी साधन (ईभी)को बिक्री बढ्दै जाँदा व्यापारिक घराना बीचको प्रतिस्पर्धा निकै तीव्र बनेको छ । धेरैजसो व्यवसायिक घरानाले झण्डै दर्जनसम्म ईभी ब्राण्ड नेपाल ल्याएका छन् ।
खासगरी चारपाङ्ग्रे र लाइट कमर्शियलमा तीव्र प्रतिस्पर्धा चलिरहेको देख्न सकिन्छ । जसमा झण्डै तीन दर्जन ब्राण्डहरूले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ १५ गतेसम्म कुल १७ हजार ८५ युनिट* ईभी आयात भएको छ । जसमा आयातको आधारमा एमएडब्लू पहिलो देखिएको हो ।
एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले डोङफेङ, चांगान, फोटोन, शोकोन र सेरेस ब्राण्डको गाडी ल्याइरहेको छ । अर्को चिनियाँ प्रिमियम ब्राण्ड अवतार भने एमएडब्लू राइड नामक कम्पनीबाट आयात भइरहेको देखिन्छ ।
कम्पनीले चालु आर्थिक वर्षमा डोङफेङ नामीको इलेक्ट्रीक ह्याचब्याक कार १ हजार २५ युनिट आयात गरेको छ । दीपलको गाडी ७१२ युनिट ल्याएको एमएडब्लू वृद्धिले ६८५ युनिट फोटोनका भ्यान आयात गरेको छ भने १७५ युनिट शोकोनका भ्यान ल्याएको छ । यस अवधिमा सेरेसका १२२ कार ल्याएको देखिन्छ । एमएडब्लू राइडले अवतार ४० युनिट आयात गरेको छ । समग्रमा एमएडब्लू ग्रुपले २ हजार ७५९ युनिट विद्युतीय साधन नेपाल ल्याएको देखिन्छ ।
दोस्रो स्थानमा सिप्रदी ट्रेडिङ देखिएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्ममा २ हजार ७५४ युनिट विद्युतीय कार गाडी ल्याएको छ । कम्पनीले आयात गरेको इलेक्ट्रीक ट्याक्सी पनि यसमा जोडिएको छ ।
चिनियाँ ब्राण्डको चांगन लिएर हिँडेको सीजी मोटर्सले पनि २ हजार ७५१ युनिट विद्युतीय साधन आयात गरेको देखिन्छ । कम्पनीले केवाइसी भ्यान ९४९ युनिट, किङलङ भ्यान ८८७ युनिट आयात गरेको देखिन्छ । कम्पनीले बिक्री गर्ने रेडारा पीकअप २३४ युनिट आएको छ ।
त्यसैगरी, सीजी मोटर्सले बिक्री गर्ने कार ब्राण्डहरू जीएसी एवोन २०६ युनिट, डायुन १७५ युनिट, नेटा १६२ युनिट, एक्सपेङ १३४ युनिट र स्मार्ट ४ युनिट आयात गरेको छ । कम्पनीले भ्यान र कार सबै मिलाएर २ हजार ७५१ युनिट आयात गरेको छ ।
सूचीको चौथो स्थानमा बीवाइडी परेको छ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले २ हजार ५१५ युनिट* विद्युतीय गाडी आयात गरेको देखिन्छ ।
पाँचौ ठूलो ईभी बिक्री गर्ने घरानामा विशाल ग्रुप परेको छ । विशाल ग्रुप अन्तर्गत रहेको एमजी सबैभन्दा ठूलो देखिन्छ । विशाल ग्रुप अन्तर्गतको एमजी ब्राण्डको १ हजार २६० युनिट, ग्रेटवाल मोटर्सले ३८ युनिट र रेनो ब्राण्डमा एक युनिट विद्युतीय कार आयात गरेको छ ।
कम्पनीले बिक्री गर्ने लाइट कमर्शियल भ्यान साइनरे ५५३ युनिट, जोयलङ ३६२ युनिट र जिन्बेइ ब्राण्डमा ६० युनिट आयात भएको छ । कम्पनीले यस अवधिमा २ हजार २७४ युनिट विद्युतीय भ्यानहरू आयात भएका छन् ।
छैटटौं ठूलो ईभी आयात गर्नेमा सारडा ग्रुप र गोल्छा अर्गनाइजेशनको संयुक्त लगानी रहेका विभिन्न कम्पनीहरू परेका छन् । यस अवधिमा उनीहरूले १ हजार ४५८ युनिट गाडी ल्याएका छन् । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्ममा ओमोडा/जेको ब्राण्डमा ७०९ युनिट गाडी आयात भएका छन् । त्यसैगरी लीपमोटरको ४३७ युनिट, केई १६३ युनिट, जीकर ७२ युनिट र सिट्रोनको ईभी ५७ युनिट आयात भएको देखिन्छ ।
सूचीको सातौं स्थानमा लक्ष्मी ग्रुप परेको छ । लक्ष्मी ग्रुपले हुन्डाईको ईभीभन्दा पेट्रोल गाडी कम बिक्री गर्ने भएको कारण उसको संख्या केही कम देखिएको छ । लक्ष्मी ग्रुपले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्ममा हुन्डाईको ३४५ युनिट, केईको १८४ युनिट, बीएमडब्लूको ५३ युनिट र फरथिङको २ युनिट कार आयात गरेको देखिन्छ । कम्पनीले यस अवधिमा ५८४ युनिट ईभी आयात गरेको छ ।
यी मुख्य र धेरै ईभी बिक्री गर्ने ब्राण्डका अलावा अन्य ब्राण्डले २ हजार ३० युनिट ईभी आयात गरेका छन् । त्यसमा १०० युनिटभन्दा बढी आयात गर्ने कम्पनीमा डीएफएसकेको भ्यान ३७७ युनिट, जेएमईभी २१५ युनिट, प्रोटोन २०२ युनिट, कामा पीकअप ट्रक १७० युनिट, डीएफएसी भ्यान ११९ युनिट, स्काइवेलको एसयूभी ११४ युनिट, किटन भ्यान ११४ युनिट, हाइगर भ्यान १०५ युनिट आयात भएको देखिन्छ ।
*सच्याइएकाे । सम्पादक