काठमाडौं । सन् २०२५ को सुरूवाती ५ महिनामा ठूलो संख्यामा गाडी आयात भएको देखिन्छ । यस अवधिमा करिब ३ दर्जन ब्राण्डले चारपाङ्ग्रे सवारी साधन ल्याएर बिक्री गर्दै आएका छन् ।
सन् २०२५ को जनवरीदेखि मे अन्तिम (बजेट अघि)सम्म ८ हजार ४९४ विद्युतीय जीप/कार भ्यान आयात भएका छन् । जुन नेपालमा कुल एक वर्ष बिक्री हुने कारको ६० प्रतिशतभन्दा धेरै हो ।
विशेषगरी बजेटमा हुने उथलपुथललाई आधार मानेर बिक्रेताहरूले ईभी ल्याएका थिए । तर, यस पटकको बजेटले ईभीमा लाग्दै आएको करका दर चलाएन । सन् २०२५ को जनवरीदेखि मे अन्तिमसम्ममा आयात भएको संख्याका आधारमा टप ५ कार मोडल यस प्रकार छन् ।
एमजी एस-५ : यस वर्षको जनवरीदेखि मे महिनासम्ममा सबैभन्दा धेरै आयात भएको मोडल एमजी एस-५ हो । नेपालमा बिक्री सुरू भएको ३ महिनाको अवधिमा एस-५ को आयात १ हजार ५२ युनिट पुगेको छ । ४३ लाख ९९ हजार रुपैयाँ सुरूवाती मूल्य रहेको एमजी एस-५ फिचर लोडेड क्रसओभर एसयूभी हो ।
एक्सप्रेस-टी : टाटा मोटर्सको उत्पादन एक्सप्रेस-टी नेपालमा विद्युतीय ट्याक्सीको रूपमा बिक्री वितरण हुँदै आएको छ । टाटाले एक्सप्रेस-टी ५ महिनाको अवधिमा ७५६ युनिट आयात गरेको भन्सार तथ्यांकमा देखिएको छ । सिप्रदीले ३६ लाख ९९ हजार रुपैयाँ मूल्य लगाएर यसको बिक्री वितरण गर्दै आएको छ ।
डोङफेङ नामी : नेपाल आएको छोटो समयमा नै राम्रो सफलता पाएको डोङफेङको नामी बक्स ह्याचब्याक मोडल हो । ५ महिनामा ६६४ युनिट नामी बक्स आयात भएको देखिन्छ । ३० लाख रुपैयाँ सुरूवाती मूल्य रहेको कम्प्याक्ट ह्याचब्याक कार अन्य प्रतिस्पर्धी माथि भारी परिरहेको छ ।
बीवाइडी डल्फिन : नेपाली बजारमा सर्वाधिक सफल इलेक्ट्रीक ब्राण्ड बीवाइडीको सफल मोडल डल्फिनको आयात ५ महिनाको अवधिमा ५८५ युनिट भएको छ । ४१ लाख १५ हजार रुपैयाँ मूल्य तोकेर साइमेक्स इंकले बिक्री गर्दै आएको प्रिमियम ह्याचब्याक कार सुरूवातदेखि नै नेपालमा सफल मोडल हो ।
क्रेटा ईभी : सन् २०२५ को मार्चबाट बजारमा आएको क्रेटा ईभी पनि धेरै आयात भएको सूचीमा अटाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले तीन महिनाभन्दा छोटो अवधिमा ३४५ युनिट क्रेटा आयात गरेको देखिन्छ । यसको सुरूवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

