स्वीडेनको मोटरसाइकल उत्पादक कम्पनी हस्कभर्नाले १२५ र २५० सीसी सेग्मेन्टका नयाँ मोटरसाइकल उत्पादन गर्ने भएको छ । कम्पनीले २०२० सम्ममा भारतीय बजारमा सार्वजनिक गर्नेगरि उक्त सेग्मेन्टका मोटरसाइकल निर्माण गर्ने भएको हो ।
यस सेग्मेन्ट अन्तर्गत कम्पनीले सुपरमोटो, इन्डुरो, एक्स्प्लोरर र नेकेड रोडस्टर रेन्जका मोटरसाइकल ल्याउने भएको हो । जसमध्ये, सुपरमोटो, इन्डुरो र रोडस्टर मोडल १२५, २५० र ४०१ सीसी क्षमतामा उपलब्ध हुनेछन् भने, एडभेन्चर टुरर मोडल २५० र ४०१ सीसी क्षमतामा हुने छन् ।
यी मोटरसाइकलमा केटीएम १२५, २५० र ३९० मोडलमा उपलब्ध इन्जिन लगाइने अनुमान गरिएको छ । भारतीय बजारमा बजाज, केटीएम र हस्कभर्नाले साझेदारी गदै आएका छन् । यद्यपी, यी मोटरसाइकलको मूल्य केटीएम र बजाजका मोटरसाइकलको भन्दा बढि पर्न आउने अनुमान गरिएको छ ।

मोटरसाइकलमा प्रदान गर्ने १२४.७१ सीसीको इन्जिनले १५.२ पीएस पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ भने २४८.८ सीसी इन्जिले ३० पीएस पावरका साथै २४ एनएम टर्क उत्पादनको क्षमता राख्छ ।
यी सबै मोटरसाइकलमा आकर्षक प्रिमियम फिचर समेटिने कम्पनीले जनाएको छ । मोटरसाइकलको अगाडि इन्भटेड फर्क र पछाडि मनोशक सस्पेन्सन दिइने छ । दुबै पाँग्रामा डिस्क ब्रेकको साथै एबीएस फिचर उपलब्ध हुनेछ ।
मोटरसाइकलमा फुल एलइडी लाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जस्ता फिचर समाबेस हुने जनाइएको छ । यी मोटरसाइकललाई कम्पनीले आगामी इआईसीएमए (इक्मा) मोटर शोमा प्रदर्शन गर्ने जनाइएको छ । हस्कभर्ना, ब्राण्डका मोटरसाइकल नेपाली बजारमा समेत बिक्री वितरण भइरहेको छ ।


