काठमाडौं । करिब १ दशक अघि बन्द भएको दक्षिण कोरियाली मोटरसाइकल ब्राण्ड ह्योसुङ पुनः नेपाली बजारमा प्रवेश गरेको छ ।
यसअघि बतास मोटर्सले बिक्री गर्न नसकेर बन्द गरेको ह्योसुङ ब्राण्ड अहिले इभोक नेपाल प्रालिले नेपाल भित्र्याएको हो ।
कम्पनीले नेपाली बजारमा ह्योसुङको २५० सीसी सेग्मेन्टमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याएको हो । कम्पनीले नेपाल ल्याएको यो मोटरसाइकल २५० सीसी सेग्मेटकै पहिलो भी९ट्विन इन्जिन भएको मोटरसाइकल समेत हो ।
कम्पनीले यो मोटरसाइकल औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । कम्पनी स्रोतका अनुसार यो मोटरसाइकल केही समयपछि मात्रै सार्वजनिक हुनेछ । उक्त मोटरसाइकल करिब ७ लाख ५० हजार रुपैयाँ हाराहारी मूल्यमा बिक्री गरिने कम्पनी स्रोतको भनाइ छ ।
यसअघि बतास मोटर्सले पहिलो पटक सन् २०१० तिरदेखि ह्योसुङ मोटरसाइकल आधिकारिक रूपमा बिक्री सुरू गरेको थियो । तर, नेपाली बजारमा स्थापित हुन नसकेर केही वर्षमै बन्द भएको थियो ।
कम्पनीले बजारमा कम्प्युटर सेग्मेन्ट, स्पोर्ट, डुअल स्पोर्ट, रोड टुरिङ लगायत सेग्मेन्टमा मोटरसाइकल उपलब्ध गराएको थियो । तर, ३/४ वर्षमै टिक्न नसकेर सन् २०१५ तिर बन्द हुन पुगेको थियो । कमजोर बिक्री, मोटरसाइकलको उच्च मूल्य, सर्भिस र स्पेयर पार्टस आपूर्ति हुन नसक्दा बन्द भएको थियो ।
यसअघि बिक्रेताकै कमजोरीका बन्द हुन पुगेको ह्योसुङ दशकपछि नेपालमा रिइन्ट्री गरेको छ । पछिल्लो समय नेपालमा एड्भेन्चर मोटरसाइकलको बिक्री बढ्दो छ । यस्तोमा नयाँ मोडल र नयाँ विशेषताको मोटरसाइकल उपलब्ध हुँदा ग्राहकको रोजाइमा पर्न सक्ने सम्भावना पनि देखिन्छ ।
यो ब्राण्ड बजारमा स्थापित हुन सक्ने नसक्ने भन्ने यसको मूल्य, कम्पनीले अपनाउने मार्केटिङ रणनीति, सर्भिस सुविधा, स्पेयर पार्टसको उपलब्धतामा भर पर्नेछ । इभोक नेपालले पनि बतास कम्पनीले जस्तै उपभोक्तालाई सहजता र राम्रो नेटवर्क दिन सकेन भने बजारमा स्थापित हुन कठिन हुनेछ ।

साथै, स्थापित ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । अहिले नेपालमा अधिकांश स्थापित ब्राण्डले पनि एड्भेन्चर मोटरसाइकल बिक्री गर्दै आएका छन् । पुराना ब्राण्डको सर्भिस र स्पेयर पार्टसको सहज उपलब्धता पनि छ ।
चुनौती र अवसर दुवैका बीच दशकपछि पुनः नेपाल आएको ह्योसुङ ब्राण्ड मोटरसाकइल बजारमा टिक्ला वा पहिलाको जस्तै केही समयमै बन्द होला । त्यो भने समयले नै देखाउने छ ।
यस्तो छ २५० एड्भेन्चर ह्योसुङ मोटरसाइकल
२५० एड्भेन्चर सेग्मेन्टमा विल्कुलै नयाँ डिजाइन र टेक्नोलोजीमा नेपाल आएको हो । नेपालमा आएका अधिकांश २५० एड्भेन्चरभन्दा यो मोटरसाइकल फरक शैली र भी-ट्विन इन्जिन सेटअपमा छ । यो इन्जिन भएको नेपालमा २५० सीसी सेग्मेटकै पहिलो मोडल हो ।
ह्योसुङ मोटरसाइकलमा युरो६ मापदण्ड अनुसारको २४८.२ सीसी क्षमताको लिक्विड कुल्ड, ८ भल्ब, एसओएचसी, एफआई, भी–ट्विन इन्जिन छ । यो इन्जिनले अधिकतम ९ हजार ५०० आरपीएममा २५।५ पीएस पावर तथा ७००० आरपीएममा २० एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीड गियरबक्स छ । यसमा दिइएको भी-ट्विन इन्जिनले स्मुथ राइडिङ प्रदान गर्छ र मोटरसाइकलमा आउने इन्जिन भाइब्रेटलाई पनि कम गराउँछ ।
प्रपर एड्भेन्चर लुकमा देखिएको यो मोटरसाइकलमा सिधा राइडिङ पोस्चर टाइपको ह्याण्डलिङ, सिट पोजिसन, फ्रन्टमा अपसाइड डाउन फोर्क, रियरमा मोनोसक सस्पेन्सन, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, वायर स्पोक ह्वील र ट्युबलेस टायर रहेको छ ।
साथै, ह्योसुङ २५० एडीभीमा ७ इन्चको टीएफटी डिजिटल डिस्प्ले र एड्जस्टेबल विन्डसिल्ड, प्यानियर साइड बक्स राख्ने सुविधा, क्रयास गार्ड, भर्टिकल्ली स्टेक्ड एलईडी हेडल्याम्प, पूरा एलईडी लाइट सेटअप, ईएफआई सिस्टम लगायत सुविधा फिचर छन् ।

