काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दै यस्तो जानकारी दिएको हो ।
उक्त दिन अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित रूपमा संचालन हुने बोर्डले जनाएको छ ।
बोर्डले निर्वाचन अवधिभर नेपाल पर्यटकका लागि सुरक्षित र खुला रहने जनाउँदै त्यसका लागि सरोकारवाला निकायसँग समन्वय समेत गरिरहेको बताएको छ ।
त्यस्तै, बोर्डले निर्वाचनको दिन विमानस्थल-होटेल तथा होटेल-विमानस्थल आवतजावतका लागि सटल बस सेवा संचालन गर्न इच्छुक कम्पनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउन सिफारिस पत्र दिने व्यवस्था गरिएको जानकारी दिएको छ । यसका लागि बोर्डले सम्पर्क व्यक्तिसमेत तोकेको छ।
बोर्डले निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सबै सिमानाका बन्द गरिने जानकारी पनि दिएको छ। यद्यपि, देशभरका होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्वपूर्ण ऐतिहासिक स्थलहरू भने निर्वाचनका दिन पनि खुला रहने जनाइएको छ।

