एक्सप्रेस-वेमा जाम परेपछि चालकले पाउने भए सवा ८ करोड फिर्ता

काठमाडौं । भारतमा द्रुतमार्गमा लामो जाम परेपछि सवारी चालकले तिरेको टोल रकम फिर्ता पाउने भएका छन् ।

महाराष्ट्रको सडक विकास कर्पोरेसनले (एमएसआरडीसी)ले यो महिनाको सुरूमा मुम्बई-पुणे एक्सप्रेसवेमा ३३ घण्टाभन्दा बढी जाम हुँदा १ लाख बढी सवारी प्रभावित भएपछि टोल शुल्क फिर्ता दिने घोषणा गरेको हो ।

सडक कर्पोरेसनले एक्सप्रेस-वे प्रयोग गरेबापत सवारी साधनसँग अशुलेको ५.१६ करोड भारतीय रुपैयाँ (८ करोड २६५ लाख नेपाली रुपैयाँ) टोल रकम फिर्ता गर्ने घोषणा गरेको छ।

मुम्बई-पुणे एक्सप्रेस वेको खण्डाला घाट क्षेत्रस्थित अदोशी सुरङ नजिक ग्यास बोकेको ट्यांकर पल्टिएपछि सडकमा जाम भएको थियो । दुर्घटनापछि सुरक्षा प्रोटोकल लागू गरिँदा द्रुतमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो। भोलिपल्ट साँझसम्म करिब २० किलोमिटरसम्म सवारीको लाम लागेको थियो।

एमएसआरडीसीका अनुसार जाम अवधिमा द्रुतमार्गका दुवै दिशाबाट असुल गरिएको टोल रकम फिर्ता गरिनेछ। साथै, अवरोधका कारण प्रभावित पुणे बैंगलुरू नेशनल हाइवेका केही खण्डहरूमा असुल गरिएको टोल रकमसमेत फिर्तागरिने छ । योग्य सवारी साधन पहिचान गर्न टोल संचालकलाई विस्तृत फास्ट्याग कारोबार विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ।

एमएसआरडीसीले सवारीधनीहरूले व्यक्तिगत रूपमा कुनै निवेदन वा दाबी पेश गर्न आवश्यक नपर्ने स्पष्ट पारेको छ। जाम अवधिमा फास्ट्यागबाट कटौती भएको रकम स्वतः सोही खातामा फिर्ता गरिनेछ। सवारीधनीहरूलाई आगामी केही दिनभित्र आफ्नो फास्ट्याग विवरण जाँच गरी रकम प्राप्त भए/नभएको सुनिश्चित गर्न आग्रह गरिएको छ।

‘टोल असुली रोक्न आदेश जारी भइसकेपछि पनि प्रणालीगत ढिलाइका कारण केही सवारीबाट रकम कटौती भएको पाइयो। त्यस्तो सम्पूर्ण रकम फिर्ता गर्ने निर्णय गरिएको छ,’ एक सरकारी अधिकारीले भनेका छन् ।

दुर्घटनापछि पुणेतर्फ जाने लेन पूर्ण रूपमा बन्द गरिएको थियो। सवारी साधनलाई पुरानो मुम्बई–पुणे राजमार्गतर्फ मोडिएको थियो। घटनापछि नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ), स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) तथा भारत पेट्रोलियम (बीपीसीएल) का टोलीहरूले उद्धार तथा सुरक्षा कार्य संचालन गरेका थिए।


Back_to_top