काठमाडौं । यातायात व्यवस्था विभागले १ वर्षभन्दा कम अवधि (म्याद) रहेका सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नछाप्ने भएको छ ।
विभागले एक सूचना जारी गर्दै ४ वर्षदेखि छापिन बाँकी लाइसेन्स मध्ये म्याद सकिन १ वर्ष भन्दा कम अवधि भएका लाइसेन्सको छपाई नगरिएको जानकारी गराएको हो ।
विभागले १ वर्ष भन्दा कम अवधिका लाइसेन्स होल्डरलाई आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गई नवीकरण गर्न समेत अनुरोध गरेको छ । नवीकरण पछि एकैपटक १० वर्षे अवधिको लाइसेन्स पाउने विभागले जनाएको छ ।
‘म्याद सकिन एक वर्ष भन्दा कम अवधि भएका लाईसेन्सहरूको छपाई नगरिएको र नविकरण पश्चात दश वर्ष अवधिको लाईसेन्स प्राप्त गर्न सकिने भएकोले एक वर्ष भन्दा कम अवधिका लाईसेन्स वाहकहरूलाई आफुलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गई नविकरण गर्नुहुन समेत अनुरोध छ,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।
विभागका अनुसार विगत चार वर्षदेखि छपाई मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र स्रोतगत समस्याका समयमै लाइसेन्स छपाइ हुन सकेको थिएन । ब्याकलग लाइसेन्स मध्ये असार मसान्तसम्म २७ लाख ४७ हजार २५३ थान लाइसेन्स छपाइ सम्पन्न गरी हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाइ सकिएको विभागले जनाएको छ । सुरक्षण मुद्रण केन्द्रले क्यूआरकोड सहितको लाइसेन्स छापेको हो ।
विभागले लाइसेन्स छपाई र वितरण कार्यमा भएको ढिलाइमा समेत धैर्यता देखाएको सेवाग्राहीप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।
आगामी दिनमा नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचयपत्र नम्बरमा भएको विवरण प्राप्त गर्न, राजश्व भुक्तानी अनलाइन मार्फत गर्न सकिनेगरी प्रणालीमा सुधार गरिएको विभागले जानकारी गराएको छ ।
अब सवारी चालक अनुमति पत्रमा भएको विवरणगत त्रुटिहरूको सुधार, लाइसेन्स छपाई र वितरण सम्बन्धी कार्य सम्बन्धित कार्यालयलबाट तत्कालै हुने व्यवस्था मिलाइको विभागले जनाएको छ । साथै, वैदशिक रोजगारीको लागि द्रुत छपाई (इमरजेन्सी) लाइसेन्स सम्बन्धी काम पनि सम्बन्धित कार्यालयबाटै हुने विभागले स्पष्ट पारेको छ ।


