काठमाडौं । भारतीय नयाँ दुईपाँग्रे इलेक्ट्रीक ब्राण्ड एभोर इलेक्ट्रीकले आफ्नो पहिलो मोटरसाइकल ‘एभोर एक्स’ सार्वजनिक गरेको छ ।
एभोर इलेक्ट्रीकले तीन वर्षको अनुसन्धानपछि निर्माण गरेको आफ्नो नयाँ इलेक्ट्रीक मोटरसाइकल भारतीय बजारमा लन्च गरेको हो ।
कम्पनीले एभोर एक्स ईएक्स १, ईएक्स २ र ईएक्स २ एस गरी तीन भेरियन्टमा बजारमा उपलब्ध गराएको हो । यी भेरियन्टमा कम्पनीले ब्याट्रीप्याक र मोटर पावर फरक फरक प्रयोग गरेको छ ।
कम्पनीले एभोर एक्स ईएक्स १ को मूल्य १ लाख २४ हजार ९९९, ईएक्स २ को १ लाख ४५ हजार ९९९ र ईएक्स २ एसको मूल्य १ लाख ६९ हजार ९९९ भारु (एक्स शोरुम) तोकेको छ ।
भारतमा ७९९ रुपैयाँ रकम तिरेर बुकिङ गर्न सकिने एभोर एक्सको डेलिभरी आगामी दुई महिनाभित्र सुरू गरिने कम्पनीले जनाएको छ ।
ईएक्स १ मा ३.२४ किलोवाट आवर, ईएक्स २ र ईएक्स २ एसमा ५ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको टप भेरियन्टले एक्पटकको फुलचार्जमा २६० किलोमिटरसम्म रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ । त्यस्तै, ईएक्स २ ले २५५ किलोमिटर र ईएक्स १ ले एकपटकको फुल चार्जमा १६० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
तीनवटै भेरियन्टमा अधिकतम २५० न्युटन मिटर ह्वील टर्क प्रदान गर्छन् । मोटरको पावर भने ईएक्स १ र ईएक्स २ मा ७.५ किलोवाट र ईएक्स २ एसमा १०.५ किलोवाटको रहेको छ । ईएक्स २ एसको टप स्पिड ११४ किलोमिटर प्रतिघण्टा रहेको छ भने ईएक्स १ र ईएक्स २ ले १०० किलोमिटर प्रतिघण्टाको टप स्पिड प्रदान गर्छ ।
मोटरसाइकलमा पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस (पीएमएसएम) मोटर जडान गरिएको छ । कम्पनीले विकास गरेको ‘इन्टिग्रेटेड मोटर प्लस स्विङआर्म पावरट्रेन’ अर्थात् ‘ड्राइभ लिंक आर्म’ प्रविधिले तौल सन्तुलन, मजबुत संरचना तथा उत्कृष्ट ह्याण्डलिङ प्रदान गर्ने बताइएको छ ।
एभोर एक्सले परम्परागत मोटरसाइकल डिजाइनलाई कायम राख्दै आधुनिक इलेक्ट्रीक मोटरसाइकलका केही विशेष डिजाइन एलिमेन्ट समेटेको छ । मोटरसाइकलमा सिग्नेचर ट्याङ्क लाइटिङ र डुअल-टोन कलर स्किम पाइन्छ ।
ईएक्स १ मा ७५० वाट र अन्य दुईमा १ हजार ५०० वाटको अनबोर्ड चार्जर जडान गरिएको छ, जसलाई सामान्य ५ एम्पियर वा १५ एम्पियरको घरेलु पावर सकेटबाट नै चार्ज गर्न सकिन्छ । कम्पनीका अनुसार मोटरसाइकलको ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन करिब दुई घण्टा लाग्छ भने पूर्ण चार्ज हुन करिब चार घण्टा समय लाग्नेछ । कम्पनीले ब्याट्रीमा पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ ।
यसमा सिफ्ट नामक म्यानुअल गियर मोड पनि दिइएको छ, जसले राइडरलाई पावर डेलिभरीमाथि थप नियन्त्रण प्रदान गर्छ । साथै, एपेक्स पर्फमेन्स मोड, एआरएस, पीएएम प्लस पार्क असिस्ट, अटो इन्डिकेटर कट-अफ, गाइड मी होम लाइट, वेलकम लाइट, रिभर्स मोड, राइडिङ मोड, ७ इन्च सेग्मेन्ट एलसीडी कन्सोल, टच स्क्रिन, फुल म्याप नेभिगेसन, कनेक्टिभिटी सिस्टम दिइएको छ ।
त्यस्तै, जिओ फेसिङ, क्रयास अलर्ट, प्रिडेक्टिभ हेल्थ चेकिङ, एडेप्टिभ हेडलाइट, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल, गाइडिङ लाइट, सीबीएस रिजेनेरेटिभ ब्रेकिङ, टेलिस्कोपिक फर्क, मोनोसक रियर, भेरियन्ट अनुसार चेन ड्राइभ र बेल्ट ड्राइभ तथा सिग्नेचर ट्याङ्क लाइटिङजस्ता फिचरहरू उपलब्ध छन् ।


